रसुवाको भोटेकोशी क्षेत्रबाट आएको बाढीले त्रिशूली नदीको जलसतह करिब ३ मिटरले बढाएको छ। बाढी पूर्वानुमान महाशाखाले आज बिहान ७ बजे धादिङको गल्छीस्थित बाढीमापन केन्द्रमा यो तथ्यांक पुष्टि गरेको हो।
गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएकाले नारायणी नदी तथा यसका सहायक नदीहरूमा समेत जलसतह बढ्ने सम्भावना छ। महाशाखाले नारायणी नदी र यसका सहायक नदीहरूको तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।
यसैबीच, भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु १५ लाख सहयोग गर्ने भएको छ। संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको छ।
उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल र बाढीको जोखिमबारे स्थलगत तथा ड्रोनमार्फत अनुगमन सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले कालीगण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरिरहेको छ।
एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार पहिलो चरणमा नेपाल–चीन सीमा नजिकका दुई मुहानको निरीक्षण गरिएको थियो। दोस्रो चरणमा लोमान्थाङ माथिको घ्याकरछु तालको निरीक्षण गरिएको छ। समुद्र सतहबाट करिब पाँच हजार पाँच सय ५० मिटरको उचाइमा रहेको उक्त क्षेत्रमा ड्रोन निरीक्षणका क्रममा हिमनदीका ढिस्काहरू देखिए पनि तत्काल कुनै जोखिमको सङ्केत नभएको पौडेलले बताए।
अब लोमान्थाङको चुमजुङमाथि रहेको छुआमा पिकको शिर तथा लोघेकर दामोदरकुण्ड–१ चराङमाथिको पर्वतीय क्षेत्रको अनुगमन गर्ने योजना छ। गत वर्ष लोमान्थाङको चुमजुङमाथि छुआमा पिकबाट कालीगण्डकी नदी प्रणालीमा लेदोसहितको बाढी आएपछि स्थानीय क्षेत्रमा जोखिम बढेको थियो। उच्च हिमाली क्षेत्रमा हिमताल फुट्ने, हिमपहिरो जाने वा बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नियमित अनुगमनलाई निरन्तरता दिइने एक्यापले जनाएको छ।
