शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयका निमित्त उपकुलपतिहरूलाई दीर्घकालीन निर्णय नगर्न निर्देशन दिएका छन्।
विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री पोखरेलले नयाँ उपकुलपति नियुक्त नहुँदासम्म दैनिक कामकाज र अध्ययन-अध्यापन प्रभावित हुन नदिन निर्देशन दिए। उनले परीक्षा र प्रशासनिक कार्यहरूलाई निरन्तरता दिन पनि निर्देश गरे।
मन्त्री पोखरेलको उपस्थितिमा भएको संवाद कार्यक्रममा निमित्त उपकुलपतिहरूले विश्वविद्यालयको कामकाज र योजनाबारे योजना प्रस्तुत गरे।
सरकारले हाल आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदमा नियुक्तिका लागि प्रक्रिया अघि बढाएको छ। यसका लागि सिफारिस समिति गठन भई आवेदन दिने समय सकिएको र छनोट प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ।
नियुक्ति प्रक्रिया पारदर्शी, योग्यतामा आधारित र निष्पक्ष बनाउन “विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३” स्वीकृत गरी सोहीबमोजिम विज्ञ समितिमार्फत छनोट भइरहेको छ। अन्य विश्वविद्यालयहरूमा पनि छिट्टै यो प्रक्रिया सुरु हुने मन्त्रालयले जनाएको छ।
