चीनबाट आयात भएका आधा दर्जनभन्दा बढी विद्युतीय सवारी साधनका आपूर्तिकर्ताले मोटर पावरको विवरण फरक पारेर १ अर्ब ३८ करोड ९ लाख ४३ हजार रुपैयाँ राजस्व छली गरेका छन्। महालेखापरीक्षक कार्यालयको ६३औँ प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको हो।
भन्सार महसुल ऐन, २०८१ को अनुसूची ३ अनुसार विद्युतीय सवारीसाधनको पिक मोटर पावरका आधारमा २० र ३० प्रतिशत भन्सार शुल्क तथा १५ र २० प्रतिशत अन्तःशुल्क लाग्छ। केही आपूर्तिकर्ताले बिलबिजकमा सवारी साधनको पिक पावर क्षमताभन्दा फरक विवरण उल्लेख गरी भन्सार र अन्तःशुल्क छलेको महालेखाले औंल्याएको छ।
यो छली अनएसेम्बल्ड र ऐसेम्बल्ड दुवै प्रकारका सवारी साधनमा भएको प्रतिवेदनमा उल्लेख छ।
महालेखाको प्रतिवेदनले डिपल, ज्याक्व जे ६, एभटर ११ र एक्स पिङ मोडेलका सवारी साधनमा १ अर्ब १० करोड ९ लाख ४३ हजार रुपैयाँ राजस्व छली भएको अनुमान गरेको छ।
त्यस्तै, डोङफेङ सवारी साधनको आयातमा १७ करोड ४१ लाख २९ हजार र एक्स ३० एलईभी प्यासेन्जर भ्यानको आयातमा ९ करोड ८० लाख ५१ हजार रुपैयाँ राजस्व छली भएको भन्दै यकिन गरी असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
