बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कार्यालय समयभन्दा बढी काममा खटाएमा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक (ओभरटाइम) दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै केन्द्रीय बैंकले यस्तो निर्देशन जारी गरेको हो।
नयाँ व्यवस्थाले कुनै पनि कर्मचारीलाई कार्यालय समय बाहेक काम गर्न बाध्य पार्न नपाइने स्पष्ट पारेको छ। विशेष अवस्थामा काममा खटाउनुपरेमा प्रचलित कानुनबमोजिम अतिरिक्त पारिश्रमिक उपलब्ध गराउनुपर्नेछ। यसअघि श्रम ऐनमा व्यवस्था भए पनि राष्ट्र बैंकको निर्देशनमा स्पष्टता नहुँदा बैंकहरूले ओभरटाइम पारिश्रमिकमा आ-आफ्नै नीति अपनाउँदै आएका थिए।
निर्देशनले बैंकहरूलाई अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र अशिक्षित ग्राहकका लागि अनिवार्य विशेष काउन्टरको व्यवस्था गर्नसमेत निर्देशन दिएको छ। प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाउनुपर्नेछ। यस्ता शाखाहरूको विवरण वेबसाइटमा राख्नुपर्नेछ।
