NM Khabar 25 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भारतमा मिर्गौला झिक्ने गिरोह सक्रिय: कामको प्रलोभनमा नेपालीको अंग गायब

भारतमा रोजगारीको प्रलोभन देखाएर नेपालीको मिर्गौला झिक्ने गिरोह सक्रिय छ। सिन्धुलीका एक व्यक्तिलाई भारतमा मिर्गौला झिकेर १० हजार रुपैयाँ मात्र दिइयो। पीडितले मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिँदै कारबाहीको माग गरेका छन्।
Arjun Basnet
Arjun Basnet
24 May 2026, 9:33 pm १ मिनेट पढाइ
आकार:
मिर्गौला तस्करी
Share:

काम लगाइदिने प्रलोभनमा भारत पुर्‍याइएका सिन्धुलीका एक व्यक्तिलाई गैरकानुनी रूपमा मिर्गौला झिकेर फालिएको छ। पीडितले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएका छन्।

आर्थिक अभावमा परेका व्यक्तिलाई निसाना बनाउँदै आएको यो गिरोहले भारतमा होटेलमा काम दिने आश्वासन दिएर युवालाई फसाउँछ। फागुन २०८१ मा रोजगारी खोज्दै काठमाडौं आएका पीडितलाई जेठ २०८२ मा सुजन गिरीले भारतमा राम्रो तलबको कामको प्रस्ताव गरे।

गिरीले दिलबहादुर तामाङलाई बोलाएर कलंकीको एक होटेलमा लगे। त्यहाँ मदिरा सेवन गराउँदै कामबारे कुरा भएपछि पीडितलाई रात्रिबसमा राखेर भैरहवा हुँदै सुनौली सीमा नाका पुर्‍याइयो। यात्राभरि पटकपटक मदिरा खुवाइएकाले उनलाई के भइरहेको छ भन्ने पत्तो थिएन।

सुनौली नाका पार गरेपछि उनीहरूलाई भारतको चण्डीगढ पुर्‍याइयो। त्यहाँ समीर र राकेश नामका नयाँ व्यक्ति भेटिए। स्वास्थ्य परीक्षण गराइएपछि करिब एक महिना अपार्टमेन्टमा राखियो। यसक्रममा गिरीले खानाको व्यवस्था मिलाए।

साउन ८ गते गिरीले मिर्गौला निकाल्ने र त्यसबापत ६ लाख रुपैयाँ दिने बताएपछि पीडित झक्किए। आफू काम गर्न आएको भन्दै उनले अस्वीकार गरे। तर, श्याम भण्डारी, समीर नेपाली, राकेश नेपाली, सुजन गिरी र कुमार (राजकुमार परियार) ले पैसाको खर्च देखाउँदै जबर्जस्ती चण्डीगढकै एक क्लिनिकमा लगेर औषधि दिएर बेहोस पारे।

होसमा आउँदा उनको बायाँ मिर्गौला झिकिएको थियो। एक दिन क्लिनिकमा राखेपछि उनलाई पुनः फ्ल्याटमा ल्याइयो। तीन दिन आराम गराएपछि गिरीले बाटो खर्च भन्दै १० हजार रुपैयाँ दिए। बाँकी रकम नेपाल पुगेपछि दिने भन्दै फर्काइदियो। नेपाल आएपछि कुनै रकम नपाएको पीडितको दुखेसो छ।

उनीसँगै भारतबाट फर्किएका दिलबहादुर तामाङ, वीरबहादुर राई, सविन राई, उमेश नेपालीलगायत अन्य व्यक्तिको पनि मिर्गौला निकालिएको आशंका छ। नेपाल फर्केपछि घाउको पीडा असह्य भएपछि सिन्धुली पुगेर स्थानीय मेडिकलमा उपचार गराउँदा घटना बाहिर आयो।

पीडितले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ र संगठित अपराध निवारण ऐन २०७० बमोजिम कारबाही र क्षतिपूर्तिको माग गरेका छन्। प्रहरी एसएसपी कृष्ण पंगेनीका अनुसार आर्थिक अवस्था कमजोर भएका परिवारलाई झुक्याएर मिर्गौला बेच्ने घटना धेरै हुने गरेको छ। नुवाकोट, काभ्रे र सिन्धुपाल्चोकका व्यक्तिहरू यसमा बढी पीडित हुने गरेका छन्।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार