चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा कारोबार रकम गत वर्षको तुलनामा झण्डै एक तिहाइले घटेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८२/८३ ले यस्तो देखाएको हो।
सर्वेक्षण अनुसार, फागुनसम्म धितोपत्र दोस्रो बजारमा रु १० खर्ब २८ अर्ब ४७ करोड बराबरको कारोबार भएको छ। गत वर्षको सोही अवधिमा यो रकम रु १४ खर्ब ६५ अर्ब ६६ करोड थियो। औसत दैनिक कारोबार रकम पनि रु नौ अर्ब ८३ करोडबाट घटेर रु सात अर्ब ४५ करोडमा झरेको छ। कारोबार भएका धितोपत्रको सङ्ख्या २७.२ प्रतिशत र कारोबार सङ्ख्या २९.८ प्रतिशतले घटेको छ।
यद्यपि, नेप्से परिसूचक र बजार पुँजीकरण भने अघिल्लो वर्षको तुलनामा सकारात्मक देखिएको छ। फागुन मसान्तसम्म नेप्से परिसूचक २८२०.४५ विन्दु कायम भएको छ, जुन गत वर्षको २७३६.४९ विन्दु भन्दा बढी हो। कूल बजार पुँजीकरण ४.४२ प्रतिशतले वृद्धि भई रु ४७ खर्ब ४४ अर्ब ७३ करोड पुगेको छ।
डिम्याट खाता खोल्नेको संख्या ७६ लाख ३९ हजार पुगेको छ, जुन कुल जनसंख्याको २६.२ प्रतिशत हो। मेरो शेयर खाताको संख्या ६६ लाख १३ हजार पुगेको छ।
दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको सङ्ख्या बढेको छ। फागुनसम्म अनलाइन कारोबारका लागि लग–इन लिने लगानीकर्ताको सङ्ख्या ३१ लाख ८२ हजार ४६२ रहेको छ। गत वर्ष सोही अवधिमा यो सङ्ख्या २५ लाख ४९ हजार ६९६ थियो।
