NM Khabar 28 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, भारत निर्यात

जायोडिन बायोटेकले भरतपुरमा क्यान्सर औषधिको कच्चा पदार्थ (प्याक्लिट्याक्सल र डोसीट्याक्सल) उत्पादन सुरु गरेको छ। उत्पादन गरिएको कच्चा पदार्थ भारत निर्यात गर्न थालिएको छ, जसको प्रतिकिलो मूल्य ८ लाखदेखि २५ लाखसम्म पर्छ। स्वदेशी लगानीमा सञ्चालित यो उद्योगले भविष्यमा एसियाली देशहरूमा निर्यात गर्ने र औषधि उत्पादन गर्ने लक्ष्य राखेको छ।
Sunita Rai
Sunita Rai
28 May 2026, 9:02 am १ मिनेट पढाइ
आकार:
Share:

भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित जायोडिन बायोटेक उद्योगले क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु गरेको छ। नेपाली जडीबुटी प्रशोधन गरी भारत निर्यात थालिएको छ।

अत्याधुनिक उपकरण जडान गरी कच्चा पदार्थ उत्पादन र निर्यात सुरु गरिएको उद्योगका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीले बताए। स्वदेशी उद्यमीहरूको संयुक्त लगानीमा १ अर्ब ३० करोड रुपैयाँमा उद्योग सञ्चालनमा आएको हो।

हाल दुई प्रकारका कच्चा पदार्थ उत्पादन भइसकेका छन्। लौठ सल्ला प्रशोधन गरी सहायक कच्चा पदार्थ ‘टेन ड्यब थ्री’ बन्छ। यसबाट थप केमिकल प्रयोग गरी ‘प्याक्लिट्याक्सल’ र ‘डोसीट्याक्सल’ जस्ता मुख्य कच्चा पदार्थ तयार पारिन्छन्।

हेटौँडाको बसामाडीमा रहेको इभान्स लाइफ साइन्स उद्योगबाट लौठ सल्ला प्रशोधन गरी सहायक कच्चा पदार्थ ल्याएर पुनः प्रशोधन गरिन्छ। यसरी तयार भएको दुई किलो पाँचसय ग्राम ‘सेभेन ट्रक प्याक्लिट्याक्सल’ मंगलबार भारत निर्यात गरिएको छ।

उत्पादन गरिएको कच्चा पदार्थको परीक्षण गरी आवश्यक अनुमति प्राप्त गरिसकेको अध्यक्ष क्षेत्रीले बताए। भारतीय कम्पनीलाई नमूना पठाएर परीक्षण सफल भएपछि निर्यात सुरु भएको हो। यस कच्चा पदार्थको प्रतिकिलो मूल्य ८ लाखदेखि २५ लाख रुपैयाँसम्म पर्दछ।

उद्योगको योजना पाकिस्तान, बङ्गलादेशलगायतका एसियाली देशहरूमा पनि निर्यात गर्ने छ। नेपालका ४० देखि ४५ जिल्लामा पाइने लौठ सल्लाबाट वार्षिक एक हजार ५०० टन प्रशोधन गरी दुईदेखि तीन हजार किलोसम्म कच्चा पदार्थ उत्पादन गर्न सकिने अनुमान छ।

उद्योगमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधि उत्पादन गर्ने तयारी पनि भइरहेको छ। उद्योगको मासिक ७० देखि ८० किलो कच्चा पदार्थ उत्पादन गर्ने क्षमता छ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार