जिबी राई प्रकरणमा सांसदको प्रश्नको जवाफबाट प्रधानमन्त्रीको पन्छिनु
काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईबारे प्रतिनिधिसभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले प्रत्यक्ष रूपमा दिएनन्। आइतबारको बैठकमा सांसदहरूले जिबी राई प्रकरणबारे प्रश्न उठाउँदा प्रधानमन्त्रीले सो विषयमा प्रत्यक्ष जवाफ दिनुभन्दा सरकारको आर्थिक नीति र विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगजस्ता विषयमा केन्द्रित भए।
आर्थिक नीति र निर्यातमुखी अर्थतन्त्रमा जोड
प्रधानमन्त्री शाहले देशलाई अहिले आत्मविश्वास बढाउने भन्दा पनि पैसाको आवश्यकता रहेको बताए। उनले निर्यातमुखी अर्थतन्त्र निर्माणमा सरकारको ध्यान केन्द्रित भएको र यसका लागि दुई वर्षका लागि कर छुटको व्यवस्था गरिएको जानकारी दिए। ‘हामीले निर्यात गर्ने विषय वस्तुहरूमा लाग्ने करहरू अहिले छुट पाइन्छ। हामी निर्यातमुखी हुनुपर्छ। देशमा उत्पादन भएका चिज विभिन्न राष्ट्रमा निर्यात गर्न पाउँ भन्ने हिसाबले दुई वर्षका लागि टारेका हौं,’ उनले भने।
विदेशमा रहेका नेपालीको मताधिकार अध्ययन गरिने
यस्तै, प्रधानमन्त्रीले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार प्रयोगका विषयमा पनि अध्ययन गरिने बताए। उनले यसका लागि दूतावासमा गएर मतदान गर्ने वा प्रविधिको प्रयोग गर्ने जस्ता विकल्पमाथि छलफल हुने र आगामी चुनावमा यसको सम्भाव्यता अध्ययन गरिने जानकारी दिए।
