NM Khabar 1 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कटारीमा खानेपानीको चरम अभाव: दमकलबाट वितरण, स्थानीय चिन्तित

उदयपुरको कटारी नगरपालिकाका ३, ४ र ५ नम्बर वडामा एक सातादेखि खानेपानीको चरम अभाव छ। उपभोक्ता संस्थाको पानी तान्ने मोटरमा प्राविधिक समस्या आएपछि पानी आपूर्ति ठप्प भएको हो। नगरपालिकाले तत्कालका लागि दमकल प्रयोग गरी टोलटोलमा पानी वितरण सुरु गरेको छ।
Maya Thapa
Maya Thapa
31 May 2026, 9:02 pm १ मिनेट पढाइ
आकार:
Share:

उदयपुरको कटारी नगरपालिकाका ३, ४ र ५ नम्बर वडामा एक सातादेखि खानेपानीको हाहाकार मच्चिएको छ। कटारी नयाँ खानेपानी तथा उपभोक्ता संस्थाको पानी तान्ने मोटरमा प्राविधिक समस्या आएपछि पानी आपूर्ति ठप्प भएको हो।

गर्मीको समयमा पिउने पानीको समस्या झेल्नुपरेपछि कटारी नगरपालिकाले आज (शनिबार) देखि नगरको दमकल प्रयोग गरी टोलटोलमा पानी वितरण सुरु गरेको छ। नगरप्रमुख राजेशचन्द्र श्रेष्ठका अनुसार, उपभोक्ता संस्थाको प्राविधिक समस्या समाधान हुन अझै समय लाग्ने भएकाले तत्कालका लागि दमकलबाट पानी पुर्‍याउने व्यवस्था मिलाइएको हो।

पानी अभावले दैनिक कामकाजमा समेत समस्या आएको भन्दै स्थानीयवासी आज बिहान रित्तो गाग्री बोकेर नगरप्रमुख राजेशचन्द्र श्रेष्ठको घरमा पुगेका थिए। स्थानीय केदार रानामगरले पानी नहुँदा शौचालय जान, खाना पकाउन र पिउनसमेत समस्या भएको गुनासो गरे। उनले खाना खाने थाल धुनसमेत पानी नहुने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरे। कटारी बजारका होटल व्यवसायीसहित सर्वसाधारण प्रभावित भएका छन्।

स्थानीयवासीले खोलाबाट पानी बोकेर दैनिकी चलाउनुपर्ने बाध्यता रहेको बताउँदै तत्काल वैकल्पिक व्यवस्था गर्न नगरपालिकालाई आग्रह गरेका छन्। पटकपटक मोटर बिग्रिने समस्याले खानेपानी आयोजनाको नियमित सञ्चालनमा बाधा पुर्‍याइरहेकाले यसको स्थायी समाधानका लागि अर्को मोटर जडान गर्नुपर्ने माग स्थानीयवासीको छ।

खानेपानी संस्थाका अध्यक्ष विष्णु पौडेलले नयाँ मोटर ल्याउने प्रक्रिया अघि बढेको जानकारी दिए। भारतबाट ल्याउन लागिएको मोटर विराटनगर भन्सारमा रोकिएपछि काठमाडौँबाट अर्को मोटर मगाइएको उनले बताए। सम्भवतः भोलि (आइतबार) दिउँसोसम्ममा नयाँ मोटर आइपुग्ने र सोमबार जडान गरी मंगलबारदेखि नियमित पानी वितरण सुरु गरिने पौडेलले बताए।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार