NM Khabar 1 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कपिलवस्तुका २९ विपन्न परिवारलाई वर्षौंपछि घरमै खानेपानी

कपिलवस्तु नगरपालिका वडा नं. १ राजपुरका २९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा जडान गरिएको छ। वडा कार्यालयले ४ लाख रुपैयाँ लगानी गरी वर्षौंदेखिको खानेपानी समस्या समाधान गरेको छ। अब विपन्न परिवारले न्यूनतम शुल्कमा घरमै सहज रुपमा पानी उपभोग गर्न पाउने भएका छन्।
Maya Thapa
Maya Thapa
1 June 2026, 6:33 pm १ मिनेट पढाइ
आकार:
Share:

कपिलवस्तु नगरपालिका वडा नं. १ राजपुरका २९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा जडान गरिएको छ। वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका यी परिवारका लागि वडा कार्यालयले ४ लाख रुपैयाँ लगानी गरेको हो।

सय घर रहेको राजपुर गाउँमा यसअघि एउटै सार्वजनिक धारामा भर पर्नुपर्ने बाध्यता थियो। हुनेखाने केही परिवारले भने व्यक्तिगत खर्चमा धारा जडान गरेका थिए। गाउँमा अधिकांश दलित र अति विपन्न समुदायको बसोबास छ।

वडा अध्यक्ष जाहिद खाँले वर्षौंदेखिको खानेपानी समस्यालाई सम्बोधन गर्न यो परियोजना अघि सारिएको बताए। उनले २८ घरपरिवारमा धारा जडान गरी स्वच्छ र सहज खानेपानीको पहुँच सुनिश्चित गरिएको जानकारी दिए। यो वडामा विगत चार वर्षमा भएका काममध्ये यो सबैभन्दा उत्कृष्ट भएको उनको भनाइ छ।

“स्वच्छ खानेपानी पाउनु नागरिकको नैसर्गिक अधिकार हो, सोही अधिकार सुनिश्चित गर्न राजपुरमा धारा जडान गरिएको हो,” अध्यक्ष खाँले भने।

नयाँ धारामार्फत उपभोक्ताले न्यूनतम १ सय १० रुपैयाँ मासिक शुल्क तिरेर १० हजार लिटरसम्म पानी उपभोग गर्न पाउनेछन्। घरमै धारा जडान भएपछि स्थानीय किस्तावती पासी खुशी छिन्। उनले सार्वजनिक धाराबाट पानी ल्याउन हुने सास्ती हटेको र अब घरमै सहज रुपमा पानी उपलब्ध हुने बताएकी छन्। पिउन, नुहाउन, भाँडा माझ्न र कपडा धुनका लागि पानीको समस्या समाधान भएको उनले सुनाइन्।

अर्का स्थानीय विपन्न चिन्का पासीले पनि निःशुल्क धारा जडानले ठूलो समस्या टरेको बताए। “गाउँमा वर्षौंदेखि पानीको समस्या थियो, अहिले वडाले समाधान गरिदिएको छ,” उनले भने।

वडा अध्यक्ष खाँले विपन्नताका कारण धारा जडान गर्न नसक्ने परिवारलाई आगामी दिनमा पनि यस्तै सुविधा निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे। उनले जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर वडा कार्यालय सधैं जनसेवामा समर्पित रहने बताए।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार