काठमाडौं । नेपाली कांग्रेसले सरकारको काम कारवाहीको निगरानी गर्न छाया सरकार गठन गरेको भन्ने प्रारम्भिक समाचार बाहिरिए पनि पार्टीका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उक्त दाबी खण्डित गरेका छन्। कांग्रेसले छाया सरकार वा छाया मन्त्रिपरिषद् गठन नगरेको उनको स्पष्टोक्ति छ।
कांग्रेस संसदीय दलको विधानअनुसार १८ वटा मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकिएको विषयलाई ‘छायाँ सरकार’ वा ‘छायाँ मन्त्रिपरिषद्’ भन्न नमिल्ने आङ्देम्बेले बताए। प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई समेटेर मन्त्रालयगत रूपमा जिम्मेवारी बाँडफाँट गरिएको उनको भनाइ छ।
“यसको उद्देश्य संसदीय कामलाई प्रभावकारी बनाउनु मात्र हो, सरकारको विकल्पका रूपमा समानान्तर संरचना खडा गर्नु होइन”, आङ्देम्बेले भने। विगतमा नेपाली राजनीतिमा ‘छाया सरकार’ भन्ने शब्दावली प्रयोग हुने गरेको भए पनि अहिले कांग्रेसले त्यस्तो संरचना नबनाएको उनले स्पष्ट पारे।
यसअघि जनपुर टुडेले कांग्रेसले १८ सदस्यीय छाया सरकार गठन गरेको र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई ‘छाया प्रधानमन्त्री’ तोकेको समाचार प्रकाशित गरेको थियो। कांग्रेसले बाँकी १७ वटा मन्त्रालयमा छाँयामन्त्री बनाएको उक्त समाचारमा उल्लेख थियो। विगतमा केपी शर्मा ओलीको नेतृत्वमा नेकपाको सरकार हुँदा कांग्रेसले बनाएको छाया सरकारको नेतृत्व पार्टीका तत्कालीन सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले गरेका थिए।
