अर्थ मन्त्रालयले स्थलमार्गबाट नेपाल भित्रिने निजी प्रयोगका सामानमा भन्सार महसुल नलाग्ने सीमा रु १०० बाट बढाएर रु ५०० पुर्याएको छ। यसअघि कडाइका साथ कार्यान्वयन गरिएको नियमले सीमा क्षेत्रमा तनाव बढाएको थियो।
राजपत्रमा प्रकाशित सूचना अनुसार, अब रु ५०० सम्मका निजी प्रयोगका वस्तु साथमा ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछन्। यसअघि यो सीमा रु १०० थियो।
भारतबाट किनमेल गरी नेपाल ल्याइने सामानमा भन्सार लाग्ने व्यवस्था कडाइका साथ कार्यान्वयन भएपछि सीमावर्ती क्षेत्रका बासिन्दाले घरायसी सामान खरिदमा सहुलियत माग गरेका थिए। गत वर्षको जेठमा स्थलमार्गबाट सीमा ओहोरदोहोर गर्नेलाई भन्सार छुट नदिइने व्यवस्था कडाइका साथ लागू गर्दा सीमा क्षेत्रमा तनाव उत्पन्न भएको थियो।
तराई मधेशका बासिन्दा दैनिक उपभोग्य वस्तु किन्न सीमा पारि जाने गर्छन्। कतिपयको सीमा पारि वैवाहिक सम्बन्धसमेत रहेकाले माइतीबाट ल्याएको उपहारमा समेत भन्सार तिर्नुपरेको गुनासो थियो।
