नागढुंगा–सिस्नेखोला सुरुङमार्गका लागि जापान सरकारसँग थप साढे ५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सम्झौता भएको छ। यसअघि सुरुङ निर्माणका लागि जापानले १६ अर्ब ऋण उपलब्ध गराएको थियो।
मूल्यवृद्धि, धादिङतर्फ पहिरो व्यवस्थापन, परामर्शदाता भुक्तानीका लागि रकम अपुग भएपछि थप ऋण लिइएको आयोजनाका निर्देशक सौजन्य नेपालले बताए। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापानी राजदूत माएडा तोरुले नोटमा हस्ताक्षर गरे।
ऋण सम्झौतामा अर्थ मन्त्रालयका धनीराम शर्मा र जाइका नेपाल प्रमुख मात्सुजाकी मिजुकीले हस्ताक्षर गरे। आयोजनाका अनुसार मुआब्जालगायतमा नेपाल सरकारको ६ अर्ब लगानी छ। समग्रमा जापान सरकारसँग साढे २१ अर्ब ऋण लिइएको छ।
२०७६ कात्तिक ४ मा सुरुङ निर्माण थालिएको थियो। आगामी साउनभित्र सर्वसाधारणका लागि खुला गर्ने तयारी छ। वैशाखमा गर्ने भनिएको परीक्षण सुरक्षा कारणले पछि सारिएको थियो।
सुरुङमार्गमा १ सय ५० कर्मचारी रहनेछन्। युसिन–एआरटी जेभीले सञ्चालनको जिम्मा पाएको छ। कर्मचारी भर्ना, तालिम र मेसिनरी खरिदको तयारी भइरहेको छ।
