NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पूर्वराज्यमन्त्री कुशवाहालाई ४ वर्ष जेल, ३८ लाख जरिवाना

जसपा नेता एवं पूर्वराज्यमन्त्री सरोज सिंह कुशवाहा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले विकास आयोजनामा बजेट मिलाइदिने भन्दै घुस मागेको आरोपमा उनलाई ४ वर्ष १ महिना कैद र ३८ लाख ५० हजार जरिवानाको फैसला सुनाएको छ।
Arjun Basnet
Arjun Basnet
4 June 2026, 3:17 pm १ मिनेट पढाइ
आकार:
सरोज सिंह कुशवाहा भ्रष्टाचार
Share:

मधेसका पूर्वराज्यमन्त्री सरोज सिंह कुशवाहा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले विकास आयोजनामा रकम विनियोजन गर्न घुस मागेको प्रकरणमा उनलाई ४ वर्ष १ महिना कैद र ३८ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुरप्रसाद कोइरालाको इजलासले गत ४ जेठमा भएको फैसलाको मंगलबार सजाय निर्धारण गरेको हो। अदालतले कुशवाहालाई ३८ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ।

कुशवाहाले बजेट विनियोजन गराइदिने भन्दै उपभोक्ताबाट बैंक खातामा डिपोजिट गर्न लगाएको ३८ लाख ५० हजार रुपैयाँ जफत गर्न पनि आदेश दिइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बजेट मिलाइदिने बहानामा कूल बजेटको एक तिहाइसम्म घुस असुल्ने गरेको आरोपमा कुशवाहाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अभियोगपत्रमा कुशवाहाले आयोजनाको खातामा रकम जानेबित्तिकै एक तिहाई रकम लिने गरेको उल्लेख छ। ०७४ देखि ०८२ सालसम्म कुशवाहाले विकास आयोजनामा रकम राखिदिएर कमिशनबापत पाँच करोड रुपैयाँ लिएको आरोप लगाइएको थियो।

अख्तियारले कुशवाहासहित १६ जनाविरुद्ध ३० असोज २०८२ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सोही मुद्दामा ८ वटा उपभोक्ता समितिमाथि कारबाही र ७१ वटामाथि छानबिन हुनुपर्ने प्रतिवेदनमा उल्लेख थियो।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार