मेचीनगर नगरपालिकाले वडा नम्बर ८ र १५ मा दुई ‘सुरक्षित कक्ष (सेफ स्पेस)’ स्थापना गरेको छ। विश्व बैंकको अनुदानमा सञ्चालित यो परियोजनाले हिंसापीडितलाई आवश्यक सेवा र सहयोग पुर्याउने लक्ष्य राखेको छ।
नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाकी प्रमुख जयन्ती खरेलका अनुसार, गत वर्षदेखि लागू भएको लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि सेवा पहुँच परियोजना अन्तर्गत यी कक्षहरू सञ्चालनमा ल्याइएका हुन्। नगरभित्र हिंसामा परेका नागरिकले यी कक्षहरूमा आएर सेवा लिन सक्नेछन्।
‘सुरक्षित कक्ष’ मा विशेषगरी बालबालिका, किशोरी र महिलाले सुरक्षित आश्रय र मनोपरामर्श प्राप्त गर्नेछन्। कर्मचारीहरूले जोखिममा परेका पीडितहरूलाई प्रहरी, अदालत र स्वास्थ्य निकायसम्म पुर्याउन सहयोग गर्नेछन्।
प्रत्येक कक्षमा एक जना केस मेनेजर, मनोपरामर्शदाता र केस वर्करको नियुक्ति गरिएको छ। मेचीनगर–८ स्थित कक्षकी केस वर्कर शान्ति मेहराले बालवालिका तथा किशोरीको पहिचान गरी उनीहरूलाई पहिलो सेवा दिने काम केस वर्करको भएको बताइन्।
प्रहरीको अध्ययनले कोशी प्रदेशमा सबैभन्दा बढी महिला हिंसाका घटना झापामा हुने गरेको देखाएको छ। यसैलाई मध्यनजर गर्दै झापामा हिंसा नियन्त्रण गर्न यो परियोजना लागू गरिएको हो।
