NM Khabar 13 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बराहक्षेत्रका किसान तरकारी खेतीले आत्मनिर्भर, विदेश पलायन रोक्दै

सुनसरीको बराहक्षेत्र नगरपालिकाका किसान व्यावसायिक तरकारी खेतीमा आकर्षित भएका छन्। यसले बाँझो जमिनलाई हराभरा बनाएको छ र किसानलाई आत्मनिर्भर बनाएको छ। विदेश पलायन रोकेर गाउँमै रोजगारी सिर्जना भएको छ।
Kamala Devi
Kamala Devi
7 June 2026, 2:48 pm १ मिनेट पढाइ
आकार:
तरकारी खेती सुनसरी
Share:

सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्रमा व्यावसायिक तरकारी खेतीप्रतिको किसानको आकर्षण बढेसँगै बाँझो जमिन हराभरा तरकारीबारीमा परिणत भएका छन्। किसान आफ्नै गाउँमा बसेर मनग्य आम्दानी गर्दै आत्मनिर्भरतातर्फ उन्मुख भएका छन्।

बिहान घाम नउदाउँदै किसान काँक्रो, गोलभेँडा, बोडी, घिरौँला, कोभीलगायत तरकारी टिप्न बारीमा पुग्छन्। उत्पादन भएका तरकारी धरान, इटहरी, इनरुवा, बराहक्षेत्र तथा आसपासका बजारमा बिक्री हुने गरेको छ।

बराहक्षेत्र–७ का दिनेश राजवंशी विगत ६ वर्षदेखि करिब दुई बिघा जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। तीन वर्ष विदेश बसेर फर्किएका उनले अहिले आफ्नै गाउँमा बसेर तरकारी खेतीबाट पर्याप्त आम्दानी गरिरहेका छन्। “विदेशमा दुःख गरेर कमाएको पैसाले घर खर्च धान्न कठिन हुन्थ्यो, अहिले परिवार सबै मिलेर तरकारी खेती गरिरहेका छौँ। मिहिनेत गर्न सके आफ्नै देशको माटोमा पनि राम्रो आम्दानी गर्न सकिँदो रहेछ”, उनले भने। तरकारी बिक्रीबाट घर खर्च सहज रूपमा चलिरहेको छ भने मासिक रु ७० हजारभन्दा बढी बचत गर्न सफल भएको राजवंशी बताउँछन्।

सोही ठाउँका नितु राजवंशी र रमेश राजवंशी दम्पतीले तीन बिघा जमिनमा व्यावसायिक तरकारी खेती गरिरहेका छन्। उनीहरूले काँक्रो, बोडी, घिरौँला, कोभी, गोलभेँडालगायत मौसमी तरकारी उत्पादन गर्दै आएका छन्। नितु राजवंशीका अनुसार विगतमा मकै र कोदो खेतीबाट परिवारको खाद्यान्न आवश्यकता मात्र पूरा हुन्थ्यो। तरकारी खेती सुरु गरेपछि राम्रै आम्दानी हुने गरेको उनले बताइन्। “पहिले बारी बाँझो थियो, अहिले तरकारी खेतीले धेरै राम्रो भएको छ। मौसमले साथ दिएमा र सिँचाइ तथा मल व्यवस्थापन राम्रो भए वार्षिक रु सात लाखदेखि रु आठ लाखसम्मको तरकारी मज्जाले बिक्री गर्न सकिन्छ”, राजवंशी दम्पती भन्छन्।

त्यसैगरी, बराहक्षेत्र–८ तीनकुनेका युक्ति चौधरीले चार बिघा जमिनमा मौसमी तरकारी खेती गर्दै आउनुभएको छ। छ वर्षअघि एक कट्ठा जमिनबाट सुरु गरिएको खेती अहिले विस्तार भएर वार्षिक रु १० लाखभन्दा बढी आम्दानीको स्रोत बनेको छ। ‘रीतिका कृषि फार्म’ सञ्चालन गर्दै आएकी चौधरीले परिवारको साथ र निरन्तर मिहिनेतले व्यवसाय विस्तार गर्न सफल भएको बताइन्। “काम गर्न सकुन्जेल खेतीलाई निरन्तरता दिन्छु। परिवारको साथ छ, मिहिनेत गर्न सके कृषि क्षेत्रमै राम्रो सम्भावना रहेछ”, उनले भनिन्।

चौधरीले पालेका गाईगोरु र बाख्राबाट प्राप्त गोबरलाई जैविक मलका रूपमा प्रयोग गर्दै आएकी छन्। यसले उत्पादनलाई स्वस्थ र गुणस्तरीय बनाउन मद्दत पुगेको उनको भनाइ छ। तरकारी बिक्रीका लागि बजारको समस्या छैन। व्यापारीहरू आफैँ फार्ममा पुगेर तरकारी खरिद गरेर लाने गरेका छन्। “हामी बजार मूल्यभन्दा प्रतिकिलो करिब रु १० कममा तरकारी दिन्छौँ, व्यापारीहरू फार्ममै आउने भएकाले बजारको झन्झट हुँदैन”, उनले भनिन्।

सुनसरी कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले बराहक्षेत्रसहित जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा तरकारी खेती प्रवर्द्धनका लागि विविध कार्यक्रम सञ्चालन भइरहेको बताए। उनका अनुसार केन्द्रले किसानलाई अनुदान, उन्नत बीउ, सिँचाइ उपकरण, माटो परीक्षण, मल तथा विषादी व्यवस्थापनसम्बन्धी तालिमलगायत प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ। आधुनिक तरकारी खेतीले धेरै किसानलाई आत्मनिर्भर बनाउन सहयोग पुगेको छ। “उत्पादन वृद्धि, बजार पहुँच र आम्दानी विस्तारमा सकारात्मक प्रभाव देखिएको छ”, उनले भने।

श्रेष्ठका अनुसार तरकारी भण्डारण, कीट प्रकोप, बजार व्यवस्थापन तथा मौसमजन्य समस्याको समाधानका लागि कृषि ज्ञान केन्द्रले निरन्तर परामर्श सेवा प्रदान गर्दै आएको छ। बराहक्षेत्रका किसानले उत्पादन गरेका तरकारी धरान कृषि उपज बजार, इटहरी, इनरुवा, बराहक्षेत्र तथा कालाबन्जरलगायतका स्थानीय बजारमा बिक्री हुने गरेका छन्। किसानका अनुसार बिक्रीका लागि बजारको अभाव छैन। सरकारी अनुदान, विभिन्न सङ्घसंस्थाको सहयोग तथा डिजिटल मार्केटिङको बढ्दो प्रयोगले व्यावसायिक तरकारी खेतीलाई थप सहज बनाएको छ।

तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि बराहक्षेत्रका किसान विदेश पलायनभन्दा आफ्नै गाउँघरमा श्रम र सीप लगानी गर्न उत्साहित देखिएका छन्। यसले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समेत टेवा पुर्‍याएको छ।

बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले नगरपालिकाले बर्सेनि किसानलाई प्राविधिक तालिम, उन्नत बीउ बिजन, मल, सिँचाइ सुविधा, प्लास्टिक टनेल निर्माणका लागि अनुदान र बजार व्यवस्थापनमा सहजीकरण गर्दै आएको जानकारी दिए। “गाउँमै रोजगारी सृजना हुने क्रम बढिरहेको छ। वैदेशिक रोजगारीमा गएका युवाहरू पनि कृषि पेसामै फर्कन थालेका छन्। स्वदेशमै बसेर आफ्नै माटोमै पसिना बगाएर राम्रै आम्दानी गर्न सकिन्छ भन्ने चेतना अहिले गाउँगाउँमा फैलिएको छ”, उनले भने।

अनियमित वर्षा, अत्यधिक गर्मी, असिना वर्षालगायत कारणले बाली नष्ट हुने, रोगकीरा बढ्ने र समग्र उत्पादन घट्नेजस्ता समस्याका कारण कहिलेकाहीँ किसान निरास हुनुपरेको छ। तर मौसम अनुकूल बालीको छनोट, प्लास्टिक टनेल, ड्रिप सिँचाइ प्रणालीलगायत प्रविधिको प्रयोग बढाउन सक्दा तरकारी खेतीबाट किसानले राम्रो आम्दानी गर्न सक्ने नगरप्रमुख कार्कीको भनाइ छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार