आगामी आर्थिक वर्षको बजेट ६ खर्ब ५७ अर्ब २९ करोड रुपैयाँ घाटामा रहेको प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले औंल्याएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा शाहीले उक्त रकमको स्रोतबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरे।
शाहीले बजेटको यो ठूलो घाटा विदेशी ऋणमार्फत पूर्ति गर्ने योजना हो भने त्यसले नेपाली जनताको टाउकोमा ऋणको भार थपिने बताए।
उनले नेपालबाट पुँजी बाहिरिने वातावरण सिर्जना गर्ने वा विदेशमा रहेका नेपालीलाई स्वदेशमा लगानी गर्न प्रोत्साहन गर्ने विषयमा सरकार प्रष्ट नभएको टिप्पणी गरे।
शाहीले वैदेशिक ऋणमा अत्यधिक निर्भरता घटाएर स्वदेशी लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनमा केन्द्रित आर्थिक नीति अवलम्बन गर्न सरकारलाई आग्रह गरे।
यसैबीच, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लागेको करको दरमा चलखेल गरेको आरोपको खण्डन गर्दै दुई रुपैयाँ बराबरको बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्ने चुनौती दिए। उनले बजेट र कर नीतिसम्बन्धी निर्णयहरू आर्थिक सिद्धान्त र दीर्घकालीन हितलाई ध्यानमा राखेर गरिएको दाबी गरे।
