महोत्तरीको बर्दिबासमा शंकास्पद मृत्यु प्रकरणले उग्र रूप लिएको छ। बर्दिबास नगरपालिका–१२ डाँडाटोलका शशी सिंहकी श्रीमती रिंकु कुमारी सिंह पंखाको सिलिङमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। स्थानीयका अनुसार परिवारले मृतक महिलालाई यातना दिँदै आएको आरोप छ।
माइती पक्षले हत्याको आरोप लगाउँदै शुक्रबार राति ससुराली घरमा तोडफोड र आगजनी गरेका हुन्। घटना नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि समेत माइती पक्ष जाइलागेपछि झडप भएको थियो।
गौशाला नगरपालिका–११ कान्तिबजारकी स्थायी बासिन्दा पिंकीको मृत्युको खबर पाएलगत्तै उनका आफन्त ठूलो संख्यामा घटनास्थल पुगेका थिए। आक्रोशित समूहले राति ८ बजेतिर घरमा पार्क्ड कारमा आगो लगाएका थिए। मोटरसाइकल र स्कुटरमा समेत तोडफोड गरिएको थियो। प्रहरीले आगो नियन्त्रणमा लिएको थियो। घरका सरसामानसमेत बाहिर निकालेर फालिएको थियो।
स्थिति तनावग्रस्त बनेपछि इलाका प्रहरी कार्यालय बर्दिबास र सशस्त्र प्रहरी बल नेपाल, बेस क्याम्प पशुपतिनगरबाट थप सुरक्षा टोली परिचालन गरिएको छ। प्रहरी र प्रदर्शनकारीबीचको झडपमा केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पिंकीको मृत्युको कारण अझै खुल्न सकेको छैन। यद्यपि, मृतकका परिवारजनले ससुराली पक्षबाट लामो समयदेखि यातना दिइएको र घटना शंकास्पद रहेको आरोप लगाएका छन्।
