NM Khabar 17 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बर्दियामा ११ महिनामा २२२ लागूऔषध कारोबारी पक्राउ

बर्दियामा गत साउनदेखि ३० जेठसम्म लागूऔषधसहित २२२ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये ९ जना विदेशी नागरिक र १ महिला छन्। सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण गर्न भारतले थप कडाइ गर्नुपर्ने स्थानीयको माग छ।
Kamala Devi
Kamala Devi
13 June 2026, 1:18 pm १ मिनेट पढाइ
आकार:
लागूऔषध कारोबारी बर्दिया
Share:

बर्दिया । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले गत साउनदेखि ३० जेठसम्म लागूऔषधसहित २ सय २२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ९ जना विदेशी नागरिक र १ महिला छन् ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी डीएसपी रेशम बोहोराका अनुसार ११ महिनाको अवधिमा बरामद भएका लागूऔषधमा ब्राउन सुगर, गाजा, चरेश, अफिम, क्याप्सुल र कोरेक्सजस्ता सामग्रीहरू छन् । गत आर्थिक वर्षमा पनि तीन विदेशी पुरुषसहित २ सय १५ जना दुर्व्यसनीलाई लागूऔषधसहित पक्राउ गरिएको थियो ।

स्थानीय प्रशासनले दुई वर्षअघिदेखि भारतबाट हुने अवैध ओसारपसार नियन्त्रण गर्न खोजी अभियान सञ्चालन गरेपछि लागूऔषध दुर्व्यसनीहरू पक्राउ पर्न थालेको प्रहरीले जनाएको छ । ८३ किलोमिटर भारतीय सीमा जोडिएको बर्दिया लागूऔषध ओसारपसारको प्रमुख नाकामध्ये एक हो । यस क्षेत्रमा बढैयाताल गाउँपालिका, गुलरिया र मधुवन नगरपालिका प्रमुख रूपमा पर्दछन् ।

बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले भारतीय बजारमा ब्राउन सुगर सस्तो मूल्यमा पाइने भएकाले नेपाली युवाहरू त्यसतर्फ आकर्षित हुने गरेको बताए । यसलाई रोक्न प्रहरीसँगको समन्वयमा विद्यालयस्तरमा जनचेतना कार्यक्रम पनि सञ्चालन गरिएको उनले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले भारतमा १० ग्रामसम्म ब्राउन सुगर पक्राउ गर्दा मुद्दा नचल्ने व्यवस्था रहेको बताए । उनले काउन्टर पार्टको बैठकमा लागूऔषध नियन्त्रणका लागि भारतीय समकक्षीसँग कुरा उठाएको र भारतीय सुरक्षाकर्मीले सीमावर्ती क्षेत्रबाट लागूऔषध कारोबारीलाई बेलाबखतमा पक्राउ गर्दै आएको जानकारी दिए ।

स्थानीयवासीका अनुसार भारतीय सुरक्षाकर्मीले थप कडाइ गरेमा लागूऔषध ओसारपसार नियन्त्रणमा आउनेछ । प्रजिअ हमालले भारतीय प्रहरीको सक्रियताले ओसारपसारमा कमी आउने विश्वास व्यक्त गरे ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार