काठमाडौँ महानगरपालिकाले आगामी पाँच वर्षभित्र महानगर क्षेत्रभित्रका सम्पूर्ण भवनहरूलाई विपद् उत्थानशील बनाउने अभियान सुरु गर्ने भएको छ। यसै वर्षदेखि समुदायको सहभागितामा भवनहरूको जोखिम सर्वेक्षण, प्रबलीकरण तथा मर्मत सम्भारको कार्य थालनी गरिनेछ।
सहरी क्षेत्रमा हुनसक्ने ठुला विपद् र त्यसबाट हुने आर्थिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले महानगरले यो योजना ल्याएको हो। यस योजनाअन्तर्गत निर्माण हुने र भइसकेका सार्वजनिक तथा निजी भवन र भौतिक संरचनाहरूको जोखिम हस्तान्तरण तथा आर्थिक सुरक्षाका लागि सहुलियतपूर्ण दरमा बीमाको प्रबन्ध मिलाइनेछ।
यसका साथै, वातावरणीय दिगोपन र स्रोत संरक्षणका लागि भवन निर्माण गर्दा ऊर्जा दक्ष प्रविधि र जमिनमुनि पानी पुनर्भरण गर्ने प्रणालीलाई अनिवार्य गरिनेछ।
