भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्षमा करिब १० खर्ब रुपैयाँ बराबरको ठेक्का आह्वान गर्ने भएको छ। यससँगै देशभरका सबै वडा कार्यालयसम्म कालोपत्रे सडक पुर्याउन ९ वर्ष लाग्ने मन्त्रालयले जनाएको छ।
प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले मन्त्रालयको वार्षिक बजेट २ खर्ब ८६ अर्ब रुपैयाँ मात्रै रहे पनि तीन वर्षको योजनालाई एकैपटक कार्यान्वयन गर्न ठेक्का प्रक्रिया अघि बढाएको जानकारी दिए।
उनका अनुसार ठेक्का आह्वान गर्दा चालु आर्थिक वर्षकै दररेटलाई आधार बनाइनेछ। मूल्यवृद्धिलाई ध्यानमा राखी स्वतः मूल्य समायोजनको व्यवस्था गरिनेछ। सामान्यतया तीन वर्षसम्म लाग्ने ठेक्का प्रक्रिया एकैपटक गर्दा २० देखि २२ महिना लाग्ने काम ६ देखि ७ महिनामै सम्पन्न हुनेछ।
मन्त्री लम्सालले ‘३–३–३ योजना’ लागू गरिएकाले सडक पूर्वाधार विस्तार चरणबद्ध रूपमा अघि बढाइने बताए। यस योजनाअनुसार, सडक ट्र्याक नखुलेका क्षेत्रमा पहिलो ३ वर्षभित्र ट्र्याक खोलिनेछ। त्यसपछि अर्को ३ वर्षभित्र ग्राभेल सडक निर्माण गरिनेछ। ग्राभेल भएका सडकलाई थप ३ वर्षभित्र कालोपत्रे गरिनेछ। यसरी, सडक ट्र्याकसमेत नपुगेका स्थानमा आगामी ९ वर्षभित्र मात्रै कालोपत्रे सडक निर्माण सम्पन्न हुनेछ।
मन्त्रालयले धेरै जनसंख्याले प्रयोग गर्ने सडकलाई पहिलो प्राथमिकतामा राखेर योजना कार्यान्वयन गरिरहेको पनि उनले स्पष्ट पारे।
