पशु सेवा विभागका अनुसार देशका अधिकांश जिल्लामा बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आए पनि काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायतका जिल्लामा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको विभागले जनाएको छ ।
विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा. मुकुल उपाध्यायले उपत्यकाका तीन जिल्लामा सङ्क्रमणको अवस्था यथावत् रहे पनि काभ्रेपलाञ्चोकमा सङ्क्रमण तीव्र रूपमा फैलिरहेको बताए ।
विभागको तथ्याङ्कअनुसार हालसम्म देशभर सात लाख ५४ हजार ५ सय पन्छी, १० लाख ९१ हजार ३ सय ३ अण्डा तथा दुई लाख ४३ हजार ६ सय ३५ केजी दाना नष्ट गरिएको छ ।
यसमध्ये काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेमा मात्रै दुई लाख ८६ हजार २ सय ७७ पन्छी, एक लाख ७९ हजार ६४ अण्डा र ७४ हजार केजी दाना नष्ट गरिएको विभागले जनाएको छ ।
डा. उपाध्यायका अनुसार जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी सङ्घीय र स्थानीय सरकारको समन्वयमा प्रतिवेदन तयार पारिएको छ । सोही आधारमा सङ्क्रमित क्षेत्रका पन्छी नष्ट गर्ने तथा सङ्क्रमण नियन्त्रणका अन्य उपाय कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ ।
