राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरी उपचार क्रममा निधन भएका मुगुका गणेश नेपालीका परिवारलाई काठमाडौं महानगरपालिकाले रोजगारी, मानवीय सहयोग र सन्ततिलाई निःशुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेको छ। महानगरपालिकाले कार्यपालिका बैठकबाट विधिसम्मत निर्णय गरी कार्यान्वयनमा लैजाने जनाएको छ।
महानगरका प्रवक्ता नवीन मानन्धरद्वारा जारी विज्ञप्तिले मृतक नेपालीप्रति गहिरो दुःख व्यक्त गर्यो। विज्ञप्तिले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्यो। नेपाल सरकारले गठन गर्ने छानबिन समितिलाई महानगरपालिकाले पूर्ण सहयोग गर्नेछ। छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदम चालिनेछ।
यस्ता घटना दोहोरिन नदिन नेपाल सरकारसँग समन्वय र सहकार्यमा आवश्यक उपाय अवलम्बन गरिनेछ। महानगरपालिकाले सबैलाई संयमित रहन र धैर्य धारण गर्न आग्रह गरेको छ।
