टेक्सासको इर्भिङ सहरमा रहेको पिक रेस्टुरेन्ट एन्ड बारमा भएको सामूहिक कुटपिट घटनामा चार नेपाली मूलका युवाविरुद्ध गम्भीर शारीरिक आक्रमणको अभियोग दर्ता भएको छ। जुलाई २ को मध्यरातपछि भएको झडपमा १५ देखि २० जना संलग्न रहेको प्रहरीले जनाएको छ।
प्रहरी घटनास्थल पुग्दा बारभित्र बियरका बोतलसमेत प्रहार भएको पाइएको थियो। सीसीटीभी फुटेज अध्ययनपछि प्रहरीले चार जनाले एक व्यक्तिमाथि सामूहिक आक्रमण गरेको पुष्टि गरेको छ।
घटनामा पीडितको टाउकोमा गहिरो चोट लागेर टाँका लगाउनुपरेको छ। ओठ फुटेको, घाँटीमा चोट लागेको तथा मस्तिष्कमा चोट (कन्कसन) को आशंका छ। कन्कसनसम्बन्धी चिकित्सकीय परीक्षणको नतिजा आउन बाँकी छ।
प्रहरीका अनुसार ३१ वर्षीय सुरज बस्नेतले पीडितको टाउकोमा पटक–पटक मुक्का र लात प्रहार गरेको भिडियोमा देखिएको छ। २९ वर्षीय धीरज बस्नेत, २२ वर्षीय अमित खत्री र २२ वर्षीय शोइब खड्काविरुद्ध गम्भीर शारीरिक चोट पुर्याएको अभियोगमा दोस्रो श्रेणीको फौजदारी मुद्दा दर्ता भएको छ।
यसैबीच, अमित खत्रीविरुद्ध चोरी भएको क्रेडिट कार्ड प्रयोग वा कब्जामा राखेको आरोपमा तेस्रो श्रेणीको अर्को फौजदारी मुद्दा पनि दर्ता भएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
