क्यानाडामा आकर्षक रोजगारीको प्रलोभन देखाएर २६ जना युवायुवतीबाट करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौं महानगरपालिका–१५, चन्द्रागिरि–५ बाट पक्राउ गरेको हो। कैलाली घर भएका चौधरी लामो समयदेखि फरार थिए।
प्रहरीका अनुसार चौधरीले क्यानडामा राम्रो रोजगारीको आश्वासन दिँदै पीडितहरूबाट प्रतिव्यक्ति ४ लाखदेखि १७ लाख रुपैयाँसम्म रकम उठाएका थिए। रकम बुझाए पनि विदेश जान नपाएपछि पीडितहरूले पैसा फिर्ताको माग गरेका थिए।
पीडितहरूलाई दिइएको चेकसमेत बाउन्स भएपछि उनीहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। विभागको अनुरोधपछि प्रहरीले चौधरीको खोजी तीव्र बनाएको थियो।
प्रहरीले पक्राउ परेका चौधरीलाई आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाउने तयारी गरेको छ।
प्रारम्भिक बयानमा चौधरीले आफूले सञ्चालन गरेको म्यानपावर कम्पनी बन्द भएका कारण रकम फिर्ता गर्न नसकेको र ठगी गर्ने नियत नभएको दाबी गरेका छन्। प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ।
