देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा औसतभन्दा केही माथि छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ। यी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत आँकलन गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ।
महाशाखाले भारी वर्षा हुने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयको जोखिमबारे सतर्क रहन अनुरोध गरेको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्नेछ।
आज दिउँसो देशका पहाडी र तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा पनि यस्तै सम्भावना छ।
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका थोरै स्थानमा भारी वर्षा हुनेछ। मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षासम्मको सम्भावना छ।
