कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनको प्रभाव बढेको जनाएको छ। आज दिउँसो हिमाली, पहाडी र तराई क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुनेछ।
हाल देशभर बदली छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कर्णाली प्रदेशका एकदुई स्थानमा पनि वर्षा जारी छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश बदली रहनेछ। हिमाली, पहाडी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना छ।
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनेछ। बागमती र गण्डकी प्रदेशका एकाध स्थानमा पनि भारी वर्षाको सम्भावना छ। मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा धेरै भारी वर्षा हुन सक्नेछ।
आज राति देशभर अधिकांश बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका अधिकांश स्थानमा मध्यम वर्षा हुनेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराई क्षेत्रका अधिकांश स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ।
राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनेछ। मधेस र बागमती प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा अति भारी वर्षा हुन सक्नेछ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्ने जनाएको छ। सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
