NM Khabar 20 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद: दण्डित उम्मेदवार सर्टलिस्टमा

सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विगतमा कारबाही भोगिसकेका डा. जितेन्द्र परियार सर्टलिस्टमा परेका छन्। डा. परियारमाथि बिरामीको पाठेघरको शल्यक्रिया गर्ने र प्रतिबन्धित औषधि सिफारिस गर्ने जस्ता गम्भीर आरोप लाग्दै आएका छन्। प्रधानमन्त्री कार्यालयबाटै डा. परियारलाई नियुक्त गर्न लबिइङ भइरहेको स्रोतको दाबी छ।
Arjun Basnet
Arjun Basnet
19 July 2026, 9:02 am १ मिनेट पढाइ
आकार:
सिभिल अस्पताल विवाद
Share:

व्यावसायिक आचरण र चिकित्सा अभ्यासमा गम्भीर प्रश्न उठेर कारबाहीसमेत भोगिसकेका डा. जितेन्द्र परियार निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) को कार्यकारी निर्देशकको छनोट सूचीमा परेका छन्। विगतमा निलम्बनमा परिसकेका उम्मेदवार सर्टलिस्टमा परेपछि सरकारी छनोट समितिको निर्णय र मापदण्डमाथि प्रश्न उठेको छ।

निजामती कर्मचारी अस्पताल सञ्चालक समितिको अध्यक्ष मुख्य सचिव गोविन्दबहादुर कार्की छन्। समितिमा विभिन्न मन्त्रालयका सचिव सदस्य छन्। विगतमा गम्भीर लापरवाहीको आरोप लागेका व्यक्तिको छनोटले समितिको निष्पक्षतामाथि नैतिक प्रश्न खडा भएको छ। विवादित चिकित्सक डा. परियारविरुद्ध नेपाल मेडिकल काउन्सिलमा उजुरीसमेत परेको छ।

काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले डा. परियारविरुद्ध बेनामी उजुरीमार्फत जानकारी माग भएको बताए। पाण्डेका अनुसार, विगतमा भएका कारबाहीबारे सोधिएको छ र यो विषय काउन्सिलको व्यावसायिक आचरण समितिमा पठाइएको छ।

वि.सं. २०६८ साउन २६ गते चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एक बिरामीको घाँटीको थाइराइड क्यान्सर उपचारका क्रममा गम्भीर लापरवाही भएको थियो। नाम झुक्किएर छमकुमारी बोहराको पाठेघरको शल्यक्रिया गरिएको थियो। तत्कालीन स्त्रीरोग विभागका चिकित्सक डा. परियारको टोलीले उक्त शल्यक्रिया गरेको थियो। नेपाल मेडिकल काउन्सिलले डा. परियारको लाइसेन्ससमेत निलम्बन गरेको थियो।

यसबाहेक, डा. परियारमाथि वि.सं. २०७९ मा क्यान्सर पुष्टि भएकी महिलालाई प्रतिबन्धित औषधि सिफारिस गरेको भन्दै स्वास्थ्य मन्त्रालयमा उजुरी परेको थियो।

स्रोतका अनुसार, प्रधानमन्त्री कार्यालयबाटै शक्तिको दुरुपयोग गर्दै डा. जितेन्द्रलाई कार्यकारी निर्देशक बनाउन तीव्र लबिइङ भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका स्वकीय सचिव प्रदीप परियारले समेत यसमा जोडबल गरेको सिंहदरबार स्रोतको दाबी छ।

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक छनोटसम्बन्धी विनियमावली २०७७ अनुसार गठित समितिले असार ३१ गते ६ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको थियो। सूचीमा प्रा.डा. परियारसहित डा. धर्मराज गोसाईं, प्रा.डा. मोहनचन्द्र रेग्मी, डा. अजयकुमार झा, डा. सुरेश श्रेष्ठ र प्रा.डा. अनुजजङ्ग रायमाझी छन्।

सर्टलिस्टमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता आज बिहान १० बजेका लागि तोकिएको छ।

डा. परियार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का स्त्री क्यान्सर रोग प्राध्यापक हुन्। हाल उनी निजामती कर्मचारी अस्पतालकै स्त्री तथा प्रसूति रोग विभाग प्रमुख छन्।

सार्वजनिक चासो र स्वास्थ्य क्षेत्रको संवेदनशीलता जोडिएको पदमा विवादित व्यक्तिलाई नियुक्त गरिए अस्पतालको साखमा ठूलो धक्का पुग्ने सरोकारवालाहरू बताउँछन्। यस्तो कदमले सरकारी स्वास्थ्य संस्थाप्रतिको जनविश्वास गुम्ने र अस्पतालभित्र दण्डहीनताले प्रश्रय पाउने जोखिम बढ्ने एक चिकित्सकले बताए।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजालले नेतृत्व छनोटमा नातावाद र कृपावाद हावी हुनुहुँदैन भन्दै स्वच्छ छविका व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने बताए।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार