मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सरकारले निर्यातजन्य उद्योगका समस्या समाधान गर्छ: प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले निर्यातजन्य उद्योगका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। अमेरिकी नियमका कारण गलैंचा निर्यातमा परेको कठिनाइ समाधान गर्न कूटनीतिक पहल गरिने भएको छ। प्लाइउडको कच्चा पदार्थ निर्यात निरुत्साहित गर्न भन्सार शुल्क बढाइने र पश्मिनाका लागि वन ऐन संशोधन गरिने आश्वासन दिइएको छ।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
निर्यातजन्य उद्योग समस्या
Share:
२०९

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री शाहले नेपाल प्लाइउड उत्पादक सङ्घ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घ, नेपाल पश्मिना उद्योग सङ्घ र नेपाल डग च्यु उत्पादक सङ्घका प्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका थिए ।

झन्डै दुई घण्टा चलेको छलफलमा नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङले नेपाली गलैंचाको मुख्य बजार अमेरिका र युरोप भए पनि अमेरिकाको नयाँ नियमले निर्यातमा कठिनाइ भएको गुनासो गरेका थिए । अमेरिकाले जुलाई ८ देखि ‘कन्जुमर प्रोडक्ट सेफ्टी कमिसन’को प्रमाणीकरण अनिवार्य गरेपछि नेपालमा त्यसको सुविधा नहुँदा निर्यात रोकिएको छ । नापतौल विभागको ल्याब पनि जेन जी आन्दोलनमा जलेको छ । गुरुङले अर्को व्यवस्था नभएसम्म एक वर्षका लागि उक्त परीक्षण छुट पाउन परराष्ट्र मन्त्रालयमार्फत अमेरिकाको भन्सार विभागलाई कूटनीतिक नोट पठाइदिन माग गरेका थिए । प्रधानमन्त्री शाहले तत्कालै माग कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन् ।

गलैंचा उत्पादनका लागि बाहिरबाट आउने कच्चा पदार्थ ऊनको ‘क्वरेन्टिन सर्टिफिकेसन’ पनि बेलैमा गरिदिन गुरुङले प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए । अहिले महिनामा तीन पटक मात्र सर्टिफिकेसनको काम हुँदा व्यवसायीहरूलाई समस्या हुने गरेको उनको भनाइ थियो । प्रधानमन्त्री शाहले तुरुन्तै ‘क्वरेन्टिन सर्टिफिकेसन’को काम हप्ताको दुई दिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरेले नेपाली प्लाइउडको गुणस्तर राम्रो भए पनि विद्यमान कानूनी प्रावधानले उद्यमीहरू समस्यामा परेको गुनासो गरे । नेपालमा ८५ वटा प्लाइउड उद्योगले चार हजार करोड रुपैयाँ लगानी गरेका छन् । प्लाइउडका लागि आवश्यक पर्ने कच्चा पदार्थ (भेनियर) नेपालबाट सस्तो भन्सार दरमा भारत निकासी भइरहेको छ । प्रधानमन्त्री शाहले त्यसको भन्सार शुल्क बढाएर कच्चा पदार्थ निर्यातमा निरुत्साहन गर्न सरकार जुटेको बताए ।

नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले हिमाली भेगमा पर्याप्त चरन क्षेत्र भए पनि वन ऐनका कारण भेडापालन गर्न समस्या भइरहेको गुनासो गरेका थिए । प्रधानमन्त्री शाहले आवश्यक छलफल गरी ऐन परिमार्जन गरिने आश्वासन दिए ।

नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेलले केही कानूनी अड्चनले उत्पादन र निर्यातमा समस्या भएको बताए । डग च्युलाई डेरी उत्पादनमा नराखी ‘पेट फुड’ उद्योगका रूपमा राख्नुपर्ने र ‘स्किम्ड मिल्क पाउडर’ आयात सहज गरिदिनुपर्ने उनको माग थियो । प्रधानमन्त्री शाहले मागबारे अध्ययन गरेर उपयुक्त लागे सम्बोधन गरिने बताए ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार