धनुषाको जनकपुरमा आयोजित कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा सिँचाइको दीर्घकालीन व्यवस्थापन र माटोको उर्वराशक्ति सुधारका लागि विशेष रणनीति ल्याउने घोषणा गरिन्। मन्त्री चौधरीले आइतबारको कार्यक्रममा यो जानकारी दिएकी हुन्।
उनका अनुसार कृषि र सिँचाइ मन्त्रालयबीच सहकार्य गरेर एक एकीकृत योजना तयार गरिनेछ। सिँचाइ र कृषिलाई अलग-अलग नभई एकै युनिटका रूपमा अघि बढाउँदा मात्र प्रभावकारी परिणाम हासिल हुने मन्त्री चौधरीले बताइन्।
मधेशको माटोमा रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले जैविक पदार्थ घट्दै गएकोमा मन्त्री चौधरीले चिन्ता व्यक्त गरिन्। माटोको उर्वराशक्ति जोगाउन प्राङ्गारिक र जैविक खेतीलाई प्रवर्द्धन गरिने उनले बताइन्।
यसका लागि राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) र कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा १० वटा नमुना पालिकामा ‘माटो सुधार परियोजना’ सञ्चालन गरिने घोषणा गरिएको छ।
यसैगरी, धनुषाको संरक्षित क्षेत्रलाई समेटेर मधेश प्रदेशमा एउटा प्राणी उद्यान निर्माण गर्ने योजना पनि अघि बढाइएको छ। यसको प्राविधिक टोलीले अध्ययन गरेपछि प्रक्रिया अघि बढाइने मन्त्री चौधरीले जानकारी दिइन्।
मन्त्री चौधरीले अनुगमनका क्रममा धनुषाका माछापालक किसान, आँप उत्पादक र सहकारी प्रतिनिधिहरूसँग भेटघाट गरी कृषि प्रविधि र बीउ बिजनको पहुँचबारे जानकारी लिएकी थिइन्।
