सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज बजारमा आइतबार मध्यरातमा दुई समूहबीच झडप हुँदा प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। झडपमा २२ जना घाइते भएका छन्।
साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जान लागेको समूह र रातिको समयमा ध्वनि प्रदूषणको विरोध गर्ने अर्को समूहबीच विवाद सुरु भएको थियो। विवाद बढ्दै जाँदा दुवै समूहबीच झडप भएको थियो। उत्तेजित भीडले कप्तानगञ्ज बजार क्षेत्रका घर, मेडिकल, सवारीसाधन तथा सार्वजनिक र निजी संरचनामा तोडफोड र आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई फायर गरे पनि भीड नरोकिएपछि गोली चलाउन बाध्य भएको स्थानीय प्रशासनले जनाएको छ। घटनामा ९ जना सर्वसाधारण, ८ जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु हरिनगर बजार क्षेत्रको जुनिया टोलदेखि बसन्तपुर मोडसम्म, भुटाहा बजारको मोरिया धार खोलादेखि सुनसरी खोलासम्म, कप्तानगञ्ज बजारको यादव टोलदेखि नेपाल–भारत सीमा क्षेत्रसम्म, घुस्की बजारको कासिमिया मदरसादेखि हिमालय पब्लिक स्कुलसम्म तथा देवानगञ्ज बजारको मुसहर टोलदेखि गाउँपालिका कार्यालयसम्मका तोकिएका सीमाभित्र लागू गरिएको छ।
प्रशासनले शान्ति–सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न कर्फ्यु जारी गरिएको जनाएको छ। आदेश उल्लंघन गर्नेलाई कारबाही गरिने चेतावनी दिइएको छ। घटनास्थलको अवस्था सामान्य रहेको र सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।
