ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मर खरिद र भूमिगत तार व्यवस्थापनमा भएका अनियमितताका उजुरीमाथि अध्ययन गर्न दुई छुट्टाछुट्टै समिति गठन गरेका छन्। मन्त्रालयले सिनियर डिभिजनल इन्जिनियर (सीडीई) राजु महर्जनको नेतृत्वमा ट्रान्सफर्मर खरिद प्रक्रिया र गुणस्तरबारे अध्ययन गर्न समिति बनाएको हो। प्राधिकरण सञ्चालक समितिले सदस्य शम्भु केसीको नेतृत्वमा भूमिगत तार व्यवस्थापन र त्यसक्रममा आएका गुनासा अध्ययन गर्न अर्को समिति गठन गरेको छ।
प्राधिकरणमा प्राप्त भएका करिब १५ सय उजुरीमध्ये ठूलो संख्यामा ट्रान्सफर्मरको गुणस्तर र भूमिगत तार व्यवस्थापनका विषयमा गुनासो आएपछि अध्ययनका लागि समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। सीडीई महर्जन नेतृत्वको समितिले विभिन्न स्थानमा भइरहेको भोल्टेज प्रवाहको समस्या, बारम्बार विद्युत् आपूर्ति रोकिने (ट्रिपिङ) समस्या र ट्रान्सफर्मरहरूको गुणस्तरबारे अध्ययन गर्नेछ।
यस्तै, सदस्य केसीको नेतृत्वमा गठित समितिले काठमाडौं उपत्यकाका केही शहरी क्षेत्रमा विद्युत् प्राधिकरणले थालेको भूमिगत तार व्यवस्थापनको काममा गुणस्तरीयता नभएको र जोखिम बढेको भन्दै गुनासो सुन्ने हटलाइनमा बारम्बार उजुरी आएपछि त्यसलाई सम्बोधन गर्न अध्ययन गर्ने कार्यादेश पाएको छ। प्राधिकरणले ग्राहक तथा सेवाग्राहीको गुनासो सुन्न ११५१ हटलाइन सेवा सुरु गरेको थियो।
