सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएपछि सरकार र मृतकको परिवारबीच सकारात्मक वार्ता भएको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको छलफलमा परिवारका माग सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ।
गृहमन्त्री गुरुङले घटनाप्रति दुःख व्यक्त गर्दै सरकार आवश्यक सहयोग र राहत दिन तयार रहेको बताएका छन्। वार्तामा सहभागी परिवारका आफन्तले मृतकका बुबाआमासँग छलफल गरी थप कुराकानी गर्ने जानकारी दिएका छन्।
यससँगै, मेहताको शव बुझेर परीक्षणका लागि शिक्षण अस्पताल पठाउन परिवार सहमत भएको छ। भोलि थप छलफल गरी सहमतिलाई अन्तिम रूप दिने तयारी छ।
साउन १० गते राति भएको घटनामा घाइते भएका मेहताको उपचारका क्रममा आज निधन भएको थियो। जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि मेहताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
प्रशासनले पीडित पक्षका माग सम्बोधन गर्न र गृहमन्त्रीसँग भएको सहमति अनुसार राहत उपलब्ध गराउन राज्य प्रतिबद्ध रहेको जनाएको छ। साथै, यस शोकको घडीमा संयम र धैर्यता अपनाउन सबै पक्षलाई अपिल गरिएको छ।
