नेकपा (एमाले)मा कोशी प्रदेश सरकारको नेतृत्वलाई लिएर देखिएको विवाद तत्कालका लागि साम्य भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि मुख्यमन्त्री हिक्मत कार्कीलाई हालका लागि निरन्तरता दिने समझदारी बनेको छ।
बुधबार गुण्डुमा भएको छलफलमा मुख्यमन्त्री कार्कीसहित एमाले कोशी प्रदेशका पदाधिकारी सहभागी थिए। ओलीले अहिले सरकारलाई निरन्तरता दिन र उपयुक्त समयमा नेतृत्वबारे निर्णय गर्ने संकेत दिएका छन्।
कोशी प्रदेशको नेतृत्व परिवर्तनको चर्चा चुलिएपछि उत्पन्न विवाद समाधानका लागि ओलीले प्रदेश नेतृत्वलाई काठमाडौं बोलाएका थिए। छलफलपछि पार्टी अध्यक्षले गर्ने अन्तिम निर्णय सबैले स्वीकार गर्ने सहमति भएको एमाले कोशी नेतृत्वले जनाएको छ।
मुख्यमन्त्री कार्कीले आफू संविधानको धारा १६८(५) अनुसार नियुक्त भएकाले राजीनामा दिन नहुने अडान दोहोर्याएका थिए। त्यसपछि भएको छलफलमा तत्काल नेतृत्व परिवर्तन नगर्ने समझदारी बनेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ। पार्टी कार्यालय धुम्वाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।
कांग्रेस, एमाले र नेकपा मिलेर प्रदेशमा सरकार गठन गर्नुपर्ने पार्टीको धारणा छ। बैठकले प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिइ उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी पार्टी अध्यक्षलाई प्रदान गरेको छ।
