देशभर भइरहेको वर्षा, बाढी र पहिरोले बीपी राजमार्ग, मेची राजमार्ग लगायतका मुख्य सडकहरू अवरुद्ध भएका छन्। यसले देशभरको यातायात सेवामा गम्भीर बाधा पुगेको छ।
प्रहरीका अनुसार, सुरक्षा सतर्कता र भौतिक क्षतिको जोखिमलाई मध्यनजर गर्दै केही सडकमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ। कतिपय स्थानमा पहिरो खस्ने र सडक भासिँदा यातायात पूर्ण रूपमा ठप्प भएको छ।
बीपी राजमार्गअन्तर्गत काभ्रे र सिन्धुलीको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडक खण्डमा बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म यातायात सुचारु हुनेछ।
मकवानपुरको कान्ति लोकपथमा वर्षाले बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारी साधनमा रोक लगाएको छ।
इलामको राजदुवालीमा बाटो हिलाम्मे भएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ। सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत जिरोकिलो, कोदारी (ईकु पहिरो) र लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सडक भासिएर बन्द भएको छ।
दोलखाको लामासाघु-रामेछाप राजमार्गमा तामाकोशी खोलाले सडक कटान गरेपछि अवरोध भएकोमा खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको परिसरबाट वैकल्पिक बाटो खोलिएको छ।
रसुवाको पासाङ ल्हामु सडक खण्डअन्तर्गत खाल्टेमा त्रिशूली नदीले सडकको मुनिबाट कटान गर्दा कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
मुगुको नाग्म-गमगढी सडक खण्ड र बागलुङको कालीगण्डकी करिडोरअन्तर्गत बेलबगरमा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ।
