चितवनको इच्छाकामना गाउँपालिका-५ मा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। अविरल वर्षाले देशका मुख्य राजमार्गहरूमा बाढी र पहिरोको वितण्डा मच्चाएको छ। नेपाल प्रहरीका अनुसार धेरै सडक पूर्ण बन्द छन्। केही स्थानमा एकतर्फी मात्र सवारी चल्छन्।
सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रका चारकिलो, कोदारी र लिपिङमा पहिरोले अरनिको राजमार्ग ठप्प छ। ललितपुरको पाण्डुर र मकवानपुरको ठिंगन खण्डमा कान्ति लोकपथ अवरुद्ध छ। मकवानपुर खण्डमा राति सवारी रोक्न प्रहरीले निर्देशन दिएको छ। ईलामको राजदुवालीमा मेची राजमार्ग बन्द छ। काभ्रेको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ।
पूर्वी रुकुमको भुमे गाउँपालिकामा पहिरोले मध्य पहाडी लोकमार्ग अवरुद्ध छ। बागलुङको बेलबगर र पाल्पाको निस्दी क्षेत्रमा कालीगण्डकी कोरिडोर बन्द छ। भेरी कोरिडोर (रुकुम पश्चिम), नाग्म-गमगढी सडक (मुगु) र नाग्म सडक खण्ड (जुम्ला) मा पनि सवारी चल्न सकेका छैनन्।
काठमाडौँको सितापाइला-धार्के सडक खण्डको नागार्जुन-८ ठुलो खोलामा पहिरो पन्छाएर एकतर्फी सञ्चालन गरिएको छ। मनाङ र मुस्ताङका चामे-बेँसिशहर र बेनी-जोमसोम सडक खण्डका केही स्थानमा पनि एकतर्फी सञ्चालन छ। भोजपुरको मध्य पहाडी लोकमार्गको बोखिम क्षेत्रमा पनि एकतर्फी सडक सुचारु छ।
रसुवाको त्रिशुली-मैलुङ-स्याफ्रुबेँसी सडक र दोलखाको लामासाँघु-रामेछाप राजमार्ग बाढीले पूर्ण रूपमा अवरुद्ध छन्। दोलखामा वैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको छ।
लगातारको वर्षाले सडक जुनसुकै बेला अवरुद्ध हुन सक्ने भएकाले लामो दूरीको यात्रा गर्नुअघि नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न वा नेपाल प्रहरीको आधिकारिक बुलेटिन हेर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।
