खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको समस्या समाधान गर्न सरकारले उद्योग तथा डिपोको अनुगमनलाई तीव्रता दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले शनिबार काठमाडौंमा रहेका ग्यास उद्योग र डिपोको अनुगमन गरिन्।
नेपाल आयल निगमले साविकभन्दा बढी परिमाणमा ग्यास आयात भइरहेको दाबी गरे पनि सर्वसाधारणले सहजै ग्यास नपाएको गुनासो गरेपछि मन्त्री यादवले अनुगमनको निर्देशन दिएकी हुन्। मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योगमा पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन्।
उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय नजिकै रहेको डिपोमा पुगेर अनुगमन गरेको मन्त्री यादवको स्वकीय सचिवालयले जनाएको छ। सो क्रममा मन्त्रीले विद्यार्थी, मजदुर तथा अप्ठ्यारोमा परेका नागरिकलाई प्राथमिकता दिएर ग्यास बिक्री गर्न निर्देशन दिइन्।
ग्यास अभाव देखिएपछि निगमको निर्देशनमा गत साउन १६ गतेदेखि नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यास उद्योगले टेकुबाट ग्यास बिक्री वितरण गरिरहेका छन्। उपभोक्ताको गुनासो सम्बोधन गर्न निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेर ग्यासको बिक्री वितरणलाई सहज बनाइरहेको छ।
उपत्यकामा मात्रै एक दिनमा करिब ४० हजार सिलिन्डर ग्यास बिक्री भइरहेको निगमले जनाएको छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायले ग्यासको आयात नियमित भइरहेको र आगामी दिनमा आयातको परिणाम वृद्धि गर्ने प्रयास भइरहेको बताए।
