गृहमन्त्री सुदन गुरुङले भ्रष्टाचारको आरोप लागेका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई बचाउन खोजेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आरोप लगाएका छन्। सार्वजनिक लेखा समितिमा आईजीपी कार्कीमाथि गम्भीर भ्रष्टाचारको आरोप लाग्दा गृहमन्त्री गुरुङले भने उनलाई सँगै राखेर ‘कसैले आरोप लगाउँदैमा भ्रष्टाचारी नहुने’ बताएका थिए।
सांसद सुनारले गृहमन्त्री गुरुङको उक्त भनाइप्रति कडा आपत्ति जनाउँदै दोषीलाई काखी च्यापेर हिँड्न कसैलाई छुट नभएको चेतावनी दिएका छन्। उनले समितिमा राखेको धारणामा कुनै कमजोरी नभएको र उजुरी परेपछि अनुसन्धान र कारबाहीको विकल्प नहुने स्पष्ट पारेका छन्।
समितिले १५ दिनभित्र सबै कागज पेस गर्न र आवश्यक छानबिन गर्न निर्देशन दिएको सन्दर्भमा सुनारले भने, ‘कोही कसैले पनि आरोपितलाई काखी च्यापेर, केही नभएजसरी अनुसन्धानको क्रममा रहेका व्यक्ति र मुद्दाबारे सिंहदरबारभित्र न्यायाधीश बनेर फैसला गर्दै हिँड्ने हैन।’
उनले भ्रष्टाचारको आरोप लागेका व्यक्तिलाई बर्दी लगाएर समितिमा गएर प्रवचन दिने छुट नभएको समेत बताए। ‘भाषण नै गर्ने रहर भए बर्दी खोलेर चुनाव लड्न आउने,’ उनले थपे।
सांसद सुनारले आईजीपी कार्कीमाथि आफ्ना छोराछोरी युरोप-अमेरिकामा राखेर यहाँ अरूका छोराछोरीलाई दुःख दिएको र गरिब सिपाहीहरूले सस्तो खाना र थोत्रो पोसाकमा १८-२० घण्टा ड्युटी गर्दा बजेट हिनामिना गरेको आरोपसमेत लगाएका छन्।
उनले आफू सांसद मात्र नभई भ्रष्टाचारको विषयमा जीवन दाउमा राख्न समेत तयार रहेको बताए। ‘हामीले कसैमाथि कपोकल्पित आरोप लगाएको हैन, प्रहरी र सशस्त्र प्रहरीविरुद्ध समितिमा परेको उजुरी छानबिन गरौँ भनेको हो,’ उनले भने।
बदमासी भएको दाबीसहित समितिमा उजुरी आएपछि सांसदको हैसियतले आवश्यक प्रश्न गरिएको र आगामी दिनमा पनि गरिने उनको भनाइ छ। सुनारले आफूहरू स्वतन्त्र, निष्पक्ष र व्यावसायिक प्रहरीको पक्षमा रहेको स्पष्ट पारेका छन्।
