पोखराको विजयपुर खोलाले आज दिउँसो दुई बालकलाई बगाएको छ। पोखरा–१४ को विजयबस्तीबाट खोला तरेर पोखरा–२६ सक्नेरीतर्फ जाँदै गरेका बालकहरू भगवती हाइड्रोपावर नजिक बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार अन्दाजी १४–१५ वर्षका दुई बालकलाई खोलाले बगाएको हो।
१० जनाको समूहमा रहेका बालकहरू खोला तर्ने क्रममा आठ जना सकुशल निस्किएका थिए। दुई जनालाई खोलाले बगाएको सूचना प्राप्त हुनासाथ प्रहरीले तत्कालै खोजी तथा उद्धार कार्य सुरु गरेको छ। “हामी अहिले खोजी र उद्धारमा छौँ। समूहमा सँगै खोला तर्ने क्रममा दुई जनालाई बगाएको भन्ने प्रारम्भिक सूचना छ,” पासवानले बताए।
घटनास्थलमा इलाका प्रहरी कार्यालय शिशुवा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट २१ जना प्रहरी परिचालन गरिएको छ। सशस्त्र प्रहरी बेसक्याम्प कुँडहरबाट नौ जनाको टोली पनि खोजीमा खटिएको छ। घटनाको थप विवरण आउन बाँकी छ।
