राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारशमणि गेलालले भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साललाई सामान्य रुघा लाग्दा हेलिकप्टरको व्यवस्था गरिनुप्रति आपत्ति जनाएका छन्। उनले जनताका लागि अस्पतालसम्म पुग्ने साधन नभएको र अस्पतालमा चिकित्सक नभएको अवस्थामा मन्त्रीको यस्तो सुविधाले जनताको भावनामाथि चोट पुगेको बताए।
सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद गेलालले मन्त्रीहरूको देश भ्रमण र भौतिक मन्त्री लम्सालको हेलिकप्टर यात्रालाई कडा व्यंग्य गरेका हुन्। उनले जनता ग्यास, मल, सञ्चार, विद्युत् र आधारभूत स्वास्थ्य सेवाका लागि संघर्ष गरिरहेको अवस्थामा मन्त्रीका लागि भने सामान्य रुघा लाग्दा हेलिकप्टर उपलब्ध हुने तर जनता मर्न लागेको अवस्थामा अस्पताल पुग्ने साधन र चिकित्सकसमेत नहुनु दुःखद भएको बताए।
उनले मन्त्रीहरूलाई सम्बोधन गर्दै भने, ‘तपाईंहरूका भिडियो र प्रचारले जनता खुसी हुँदैनन्। जनताको घरघरमा मन्त्री पुगेको होइन, सरकारका कारण समस्या समाधान भएको अनुभूति पुग्नुपर्छ। देश नघुम्नुस्, देशको समस्या समाधानमा लाग्नुस्। जनताले भन्न थालेका छन्, अनुहार फेरियो तर समस्या उस्तै छ।’
उदयपुरबाट निर्वाचित सांसद गेलालले आफूले सरकारको विरोध नभई जनताको आवाज सरकारलाई सुनाउन खोजेको स्पष्ट पारे। उनले मन्त्रीहरूलाई देश घुम्ने रहर त्यागेर मन्त्रालयमा बसेर नीति निर्माण गर्न र कर्मचारीको मनोबल उच्च बनाउन सुझाव दिए।
‘मैले बोलिरहँदा सरकारको विरोध जस्तो सुनिएला, होइन। मैले जनताको आवाज सरकारलाई सुनाउन खोज्दैछु। माननीय मन्त्रीज्युहरूलाई प्रश्न छ, तपाईंहरू देश घुम्ने रहर हो कि समस्या समाधान गर्ने हुटहुटी? बिदामा घुम्न गएजस्तो गर्नुभन्दा मन्त्रालयमा बस्नुस्, नीति बनाउनुस्, निर्णय गर्नुस् र कर्मचारीको मनोबल उच्च बनाउनुस्,’ उनले भने।
सांसद गेलालले सरकारमा भएकाहरूले धेरै सल्लाहकार राखेर राज्यको ढुकुटी रित्याउन आवश्यक नभएको बताए। उनले देशका १६५ निर्वाचन क्षेत्रका समस्या र समाधानका उपायहरू स्वयं सांसदहरूले दिन सक्ने दाबी गर्दै जम्बो सल्लाहकार समूहको औचित्यमाथि प्रश्न उठाए।
