रोल्पामा बाढीपहिरो र चट्याङले २२ जनाको मृत्यु भएको छ। सांसद वर्षमान पुनले सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको ध्यानाकर्षण गराए। साउन महिनाको पछिल्लो दुई सातामा गृहजिल्ला रोल्पामा प्राकृतिक विपत्तिले ठूलो मानवीय र भौतिक क्षति पुगेको उनले बताए।
गत साउन २७ गते थवाङ गाउँपालिकाको उवामा पहिरोले १३ जनाको ज्यान लियो। भोलिपल्ट सुनछहरी गाउँपालिकाको सेरममा पहिरोमा चार जनाको मृत्यु भयो। साउन ३० गते लुंग्री गाउँपालिकाको धैरेनीमा एक जनाको मृत्यु भएको पुनले जानकारी दिए। अघिल्लो साता सेरममै पहिरोले थप दुई जनाको ज्यान लिएको थियो। परिवर्तन गाउँपालिकाको पाछावाङमा एक जनाको मृत्यु भयो। लुंग्री गाउँपालिका–१ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको थियो।
पुनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेरै ध्यानाकर्षण गराइसकेको सदनलाई जानकारी गराए। उनले विपद्को पूर्वतयारीदेखि उद्धार र राहतसम्मका सरकारी संयन्त्रलाई प्रभावकारी बनाउन माग गरे।
प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि संयन्त्र चुस्त बनाउन र राहत सामग्री तत्काल पुर्याउनुपर्ने उनको भनाइ थियो। सुलिचौर–उवा–थवाङ सडक तत्काल सञ्चालनमा ल्याउन माग गरे। सडक, खानेपानी र पुलहरूको क्षति पुगेकाले तत्काल पुनर्निर्माण गर्नुपर्ने बताए। रोल्पामा पटक–पटक पहिरो जाने क्षेत्रको दीर्घकालीन जोखिम पहिचान गर्न तत्काल भौगर्भिक अध्ययन टोली पठाउन माग गरे।
‘सम्माननीय प्रधानमन्त्रीसँग पनि भेटेर ध्यानाकर्षण गराएको छु। पूर्वतयारीमा सरकारको ध्यान जाओस्। खोजतलास र उद्धारमा संयन्त्रहरु चुस्त बनुन्। राहत सामग्री तत्काल पुगोस्’, उनले भने, ‘खास गरी सुलिचौर–उवा–थवाङ सडक तत्काल सुचारु गर्नका लागि म माग गर्दछु। खानेपानी, सडक पुलहरु क्षति भएका छन्। छिट्टै पुनस्र्थापना गरियोस् र दिर्घकालीन रुपले भौगर्भिक अध्ययन टोली अबिलम्ब पठाइयोस।’ प्रभावित बस्तीको पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आवश्यक व्यवस्था गर्न उनले सरकारको ध्यानाकर्षण गराए।
