माओवादीको १० वर्षे सशस्त्र युद्धमा ‘कमाण्डर’को भूमिका निर्वाह गरेकी सपना परियार (क. सन्ध्या) अब कोशी प्रदेश सरकारको नीति निर्माण तहमा पुगेकी छन्। उनी प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नेछिन्।
सुनसरीको इटहरी–५ मा २०४२ फागुन २२ गते जन्मिएकी परियारको यो यात्रा सहज थिएन। बुवाको निधनपछि एकल आमा नरमायाँ हिङमाङको काखमा हुर्किएकी उनले सानै उमेरदेखि अभाव र विभेदको सामना गरिन्। आमाको ज्याला–मजदुरीले हुर्केकी छोरी आज प्रदेशको महत्त्वपूर्ण जिम्मेवारीमा छिन्।
परियारको राजनीतिक यात्रा २०५६ सालमा माओवादी निकट जनसांस्कृतिक टोलीबाट सुरु भयो। २०५७ मा पार्टीको ‘होलटाइमर’ कार्यकर्ता बनेकी उनी युद्धकालमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को मोरङ–सुनसरी संयुक्त सचिव, सुनसरी जिल्ला अध्यक्ष र केन्द्रीय सचिवालय सदस्यसम्म पुगिन्। उनले पाँचथरमा संगठन विस्तारमा समेत काम गरिन्।
पार्टीभित्रको क्षमता सुनसरी जिल्ला सदस्य निर्वाचनमा प्रस्ट भयो। उनी सर्वाधिक मत ल्याएर प्रथम भइन्। जिल्ला कोषाध्यक्ष हुँदै पार्टीको आठौँ महाधिवेशनबाट ४० वर्षमुनिको युवा र दलित कोटाबाट केन्द्रीय सदस्य बनिन्। २०७० को संविधानसभा र २०७५ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बने पनि उनी विजयी हुन सकिनन्। यद्यपि, उनले संसदीय अनुभव सँगालिन्।
२०७९ को निर्वाचनपछि समानुपातिक प्रदेशसभा सदस्य बनेकी परियार संसदमा प्रखर र सक्रिय सांसदका रूपमा चिनिइन्। सानो कद र सरल स्वभाव भए पनि रोष्टममा उनको प्रस्तुति खरो र तार्किक हुन्थ्यो।
दलित, महिला, सीमान्तकृत र विपन्न समुदायका मुद्दामा उनी खरो आवाज उठाउँथिन्। बजेट, विधेयक र समसामयिक विषयमा प्रदेशसभामा राखेका मन्तव्यले उनलाई अध्ययनशील सांसदको पहिचान दियो। विधेयकमाथिको सैद्धान्तिक र दफावार छलफलमा उनी नियमित सहभागी हुन्थिन्।
स्थानीय शान्ति समिति सुनसरीको संयोजक भएर उनले द्वन्द्वपछिको शान्ति प्रक्रियामा योगदान पुर्याइन्। कृषिमा चासो राख्ने परियारले भारतको केरला पुगेर त्यहाँको कृषि प्रणालीको अध्ययन गरिन्।
२०७९ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को समानुपातिक सूचीबाट सांसद बनेकी सपना दर्जी (परियार) अहिले राज्यमन्त्रीका रूपमा भौतिक पूर्वाधार विकासको जिम्मेवारीमा छिन्। सामान्य दलित परिवार र एकल आमाको काखबाट हुर्किएर राज्यको मन्त्रीसम्म बन्न सफल उनको यात्रा धेरैका लागि प्रेरणा हो। सीमान्तकृत वर्गको हकहितका लागि संसदमा आवाज उठाउने सपनाका लागि अब कार्यपालिकामा रहेर भुइँतहका मानिसको जीवन बदल्ने ठूलो अवसर र चुनौती छ।
