सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको साम्प्रदायिक झडप र त्यसपछिको सुरक्षा कारबाहीले नेपालको आन्तरिक शान्ति सुरक्षामा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा नेपालले बनाउँदै आएको धार्मिक सहिष्णुता र शान्तिको छविसमेत गम्भीर धक्का पुर्याएको छ ।
सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य इन्जिनियर दिपककुमार साहको नेतृत्वको समितिले तयार पारेको स्थलगत अध्ययन प्रतिवेदनले घटनाको मुख्य कारक सामाजिक सञ्जालको गैरजिम्मेवार प्रयोग र राजनीतिक नेतृत्वको विवादास्पद अभिव्यक्तिलाई औंल्याएको छ । प्रतिवेदनको बुँदा नम्बर १३ ले राजनीतिक तथा सामाजिक सञ्जालको प्रभावलाई घटना उत्कर्षमा पुग्नुको प्रमुख कारण मानेको छ ।
कप्तानगञ्ज घटनापछि विभिन्न राजनीतिक व्यक्तित्व, स्थानीय अगुवा र अभियन्ताहरूले सामाजिक सञ्जालमार्फत व्यक्त गरेका अभिव्यक्तिले वातावरणलाई थप उत्तेजित र संवेदनशील बनाएको प्रतिवेदनको ठहर छ । प्रतिवेदनले सुनसरी क्षेत्र नम्बर २ का सांसद लालविक्रम थापा, तत्कालीन प्रमुख जिल्ला अधिकारी, तथा स्थानीय चन्दन मेहता, कुन्दन मेहता र रामकुमार मेहताका सामाजिक सञ्जालका गतिविधि र सार्वजनिक अभिव्यक्तिहरूमाथि अनुसन्धानको सुझाव दिएको छ ।
सामाजिक सञ्जालमा कसैको हातखुट्टा काटिएको वा बाहिरबाट व्यावसायिक सुटर आएको जस्ता कपोलकल्पित दाबीहरूले सर्वसाधारणमा त्रास र प्रतिशोधको भावना फैलायो । यस्ता अपुष्ट सामग्रीले सानो स्थानीय विवादलाई साम्प्रदायिक रूप दियो । प्रतिवेदनले ती दाबीहरूको तथ्यगत प्रमाणीकरण गरी दोषीमाथि कारबाही गर्न जोड दिएको छ ।
अन्तर्राष्ट्रिय मिडियामा नेपालको छवि
नेपालको यो आन्तरिक द्वन्द्व स्थानीय स्तरमा सीमित रहेन । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले यसलाई नेपालको फेरिँदो सामाजिक चरित्रका रूपमा व्याख्या गर्न थालेका छन् । जुलाई २०२६ को सुनसरी घटनालाई विश्वप्रसिद्ध समाचार एजेन्सी रोयटर्सले साम्प्रदायिक हिंसाको रूपमा प्राथमिकता दिँदै प्रसारण गर्यो ।
छिमेकी देश भारतको टाइम्स अफ इन्डियाले पनि सुनसरीको तनाव मधेशका अन्य जिल्लामा फैलिएको र सरकारले कर्फ्यु लगाउनुपरेको समाचारलाई प्रमुखता दियो ।
अन्तर्राष्ट्रिय मिडियामा नेपालको पहिचान शान्त देशबाट साम्प्रदायिक रूपमा विभाजित देशका रूपमा हुन थालेको छ । यसले नेपालको सफ्ट पावरलाई दीर्घकालीन क्षति पुर्याउने चिन्ता प्रतिवेदनमा छ ।
नेपालको अन्तर्राष्ट्रिय ब्रान्ड शान्तिपूर्ण पर्यटन गन्तव्य हो । सगरमाथा, बुद्ध र धार्मिक सहिष्णुता पर्यटक आकर्षणका आधार हुन् । तर, धार्मिक झडप, सडक बन्द, आगजनी र सुरक्षा बलले गोली चलाएको समाचारले नेपाल असुरक्षित रहेको सन्देश विदेशी पर्यटकलाई गएको छ ।
अमेरिकी विदेश मन्त्रालयले नेपाललाई थप सतर्कता अपनाउनुपर्ने देशको सूचीमा राखेको छ । यसको कारण धार्मिक द्वन्द्व, राजनीतिक अस्थिरता र स्थानीय अशान्ति हो । यस्ता घटना दोहोरिए पर्यटन क्षेत्रले अपूरणीय क्षति व्यहोर्नेछ ।
भारतसँग जोडिएको सीमा क्षेत्रमा तनावले सुरक्षा चासो बढाएको छ । भारतीय सञ्चार माध्यमका अनुसार, सुनसरी घटनापछि बिहारको मधुवनी लगायतका सीमावर्ती क्षेत्रमा भारतीय पक्षले सुरक्षा सतर्कता बढाएको छ । यसले नेपालको आन्तरिक समस्या सीमापार सुरक्षा संवेदनशीलताको विषय बनेको सङ्केत गर्छ ।
प्रतिवेदनले नेपाल धार्मिक ध्रुवीकरणतर्फ जाँदै गरेको देशका रूपमा बुझिनुलाई ठूलो खतरा मानेको छ । सानो विवादलाई धार्मिक पहिचानसँग जोड्ने, सामाजिक सञ्जालमा उत्तेजित बनाउने, भीड जम्मा गर्ने र हिंसा भड्काउने चक्र निर्माण भएको छ । यसले नेपालको सामाजिक सुमधुरता नष्ट गरिरहेको छ ।
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले पनि नेपालमा अल्पसंख्यकको अधिकार र धार्मिक स्वतन्त्रतामा प्रश्न उठाउन थालेका छन् । फ्रिडम हाउस जस्ता संस्थाहरूले नेपालको लोकतान्त्रिक मूल्याङ्कनमा धार्मिक सहिष्णुताको घट्दो स्तरलाई सूचकका रूपमा लिन थालेको प्रतिवेदनमा उल्लेख छ ।
