महोत्तरीको औरही नगरपालिका–१ मा सिँचाइका लागि जडान गरिएको १०० केभी क्षमताको ट्रान्सफर्मर गत साउन २७ गते राति चोरी भयो। एक वर्षअघि जडान गरिएको उक्त ट्रान्सफर्मर चोरी भएपछि किसानहरूलाई धानखेती सिँजाउन समस्या भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९ इच्छापुरमा खानेपानीको ट्रान्सफर्मर चोरी हुँदा वडाध्यक्ष अवधकिशोर यादवले आयोजना सञ्चालनमा अन्योल छाएको बताए। यसअघि पनि सोही वडामा कृषि सिँचाइका लागि जडान गरिएका ट्रान्सफर्मर चोरी भएका थिए।
धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा खानेपानीको ट्रान्सफर्मर चोरी भयो। पटकपटक चोरी हुने गरेको उक्त स्थानमा वेल्डिङ गरेर सुरक्षा व्यवस्था मिलाइएको भए पनि वेल्डिङ तोडेरै ट्रान्सफर्मरको तेल र क्वाइल चोरी गरिएको छ। यस घटनापछि स्थानीयहरू चार दिनसम्म खानेपानीबाट वञ्चित भएका थिए।
धानबाली लगाइएको यस मौसममा पानी नपर्दा किसानहरू खडेरीको सामना गरिरहेका छन्। विद्युतीय मोटर प्रयोग गरी सिँचाइ गरिरहेका अवस्थामा ट्रान्सफर्मर चोरीले उनीहरू थप चिन्तित बनेका छन्। पानीको सतह घट्दै गएपछि आम सर्वसाधारणले विद्युतीय मोटर र खानेपानी आयोजनाबाट पानी उपभोग गरिरहेका छन्। खानेपानी आयोजनामा जडान गरिएका ट्रान्सफर्मरलाई पनि चोरहरूले लक्षित गरेका छन्।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा ३३ वटा ट्रान्सफर्मर चोरी भएका छन्। महोत्तरीमा ११ वटा, सप्तरीमा ७ वटा, धनुषा र बारामा ४–४ वटा, सर्लाहीमा ३ वटा, सिरहामा २ र रौतहटमा एउटा ट्रान्सफर्मर चोरी भएको छ। पछिल्ला पाँच वर्षको तथ्यांकले वर्षेनी ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएको देखाउँछ। आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म मधेश प्रदेशमा १०१ वटा ट्रान्सफर्मर चोरी भएका छन्।
विद्युत् प्राधिकरण वितरण केन्द्र सखुवा महेन्द्रनगरका प्रमुख मकसुद आलमका अनुसार चोरी रोक्न ट्रान्सफर्मर जडान गर्दा वेल्डिङ गर्ने गरिएको छ। चोरहरूले वेल्डिङ कटर प्रयोग गरी चोरी गर्ने गरेका छन्। उनले जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा अनुगमन र गस्ती बढाउनुपर्ने कुरा उठाएको बताए।
मधेश प्रदेशका प्रहरी प्रमुख ओमप्रसाद अधिकारीले प्रहरी पनि ट्रान्सफर्मर चोरीका घटनाले हैरान भएको बताए। उनले जडान गर्दा नै आवश्यक सुरक्षा उपाय अपनाउनुपर्ने र स्थानीयहरूले पनि निगरानीमा सचेतना अपनाउनुपर्नेमा जोड दिए। नेपाल प्रहरीको सीमित जनशक्तिले सबै क्षेत्रको सुरक्षा गर्नुपर्ने बाध्यता छ।
विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय जनकपुरका अनुसार मधेश प्रदेशमा करिब ८ हजार ट्रान्सफर्मर जडान छन्। चोरीका घटना बढेपछि कार्यालयले सर्वसाधारणलाई सुरक्षा र निगरानीमा सहयोग गर्न आग्रह गरेको छ। क्षेत्रीय कार्यालयका प्रमुख शम्भु कुसियैत यादवले जहाँ ट्रान्सफर्मर जडान छ, त्यहीँका जनतालाई रेखदेख र निगरानी गर्न आग्रह गरिएको बताए। प्रहरी प्रशासनलाई पनि अनुगमन तथा अनुसन्धानका लागि पत्राचार गरिएको छ। धनुषा, महोत्तरी र सिरहामा ट्रान्सफर्मर चोरीका तीन वटा मुद्दा दर्ता गरिएको छ।
