NM Khabar 19 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

डेंगु सङ्क्रमित २८ सय नाघे, गण्डकीमा प्रकोप उच्च

देशभर डेंगु सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय ४४ पुगेको छ। गण्डकी प्रदेशमा सबैभन्दा बढी १,०१० जना सङ्क्रमित भेटिएका छन्। यस अवधिमा सङ्क्रमणका कारण २ जनाको मृत्यु भएको पुष्टि भएको छ।
Kamala Devi
Kamala Devi
19 August 2026, 8:33 pm १ मिनेट पढाइ
आकार:
डेंगु सङ्क्रमित
Share:

देशभर डेंगु सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय ४४ पुगेको छ। गत पुसदेखि हालसम्मको अद्यावधिक विवरण अनुसार यो सङ्ख्या पुगेको हो।

यस अवधिमा डेंगु सङ्क्रमणका कारण २ जनाको मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जारी गरेको स्थिति प्रतिवेदन अनुसार देशका ७४ जिल्लामा डेंगुको प्रकोप फैलिसकेको छ।

प्रदेशगत रूपमा गण्डकी प्रदेशमा सबैभन्दा बढी सङ्क्रमित भेटिएका छन्। गण्डकीमा कूल १,०१० जना सङ्क्रमित दर्ता भएका छन्।

कोशी प्रदेशमा ६७४ जना र लुम्बिनी प्रदेशमा ४३५ जना सङ्क्रमित रहेका छन्। बागमती प्रदेशमा ४२७ जना, सुदूरपश्चिम प्रदेशमा १२२ जना तथा मधेस र कर्णाली प्रदेशमा ८८/८८ जना डेंगु बिरामी पुष्टि भएका छन्।

जिल्लागत आधारमा बागलुङमा सबैभन्दा बढी ४७० जना सङ्क्रमित भेटिएका छन्। झापामा २०८, सुनसरीमा २०५, कास्कीमा १७८ र पाल्पामा १२६ जना बिरामी परेका छन्।

डेंगुको जोखिम तीव्र रूपमा बढेपछि स्वास्थ्य विभागले लामखुट्टेको टोकाइबाट बच्न र व्यक्तिगत सुरक्षाका उपायहरू अपनाउन सर्वसाधारणमा अपिल गरेको छ।

घर, कार्यालय र सार्वजनिक स्थल वरपर पानी जम्न नदिन, खाडलहरू पुर्न र पानी राख्ने भाँडाहरू सधैँ ढाकेर राख्न आग्रह गरिएको छ।

साथै, लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउन, राति तथा दिउँसो झुलभित्र सुत्न र शरीरका खुला भागमा लामखुट्टे भगाउने मलम प्रयोग गर्न महाशाखाले सुझाव दिएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार