सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री खगराज भट्टले नेकपाका तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका छन्।
भौतिक पूर्वाधार विकासमन्त्रीमा ओमप्रकाश भाट ‘सरल’, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा प्रकाश रावल र आन्तरिक मामिलामन्त्रीमा खुशीराम चौधरी नियुक्त भएका छन्। यी मन्त्रालयको जिम्मेवारी यसअघि मुख्यमन्त्री भट्टले आफैँसँग राखेका थिए।
जानकी कुँवर पौडेल भौतिक पूर्वाधार विकास राज्यमन्त्री र इन्दिरा गिरी उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेकी छन्। प्रदेश प्रमुख नजिर मियाँले बिहीबार साँझ पद तथा गोपनीयताको शपथ गराएका हुन्।
पाँच जना मन्त्री र राज्यमन्त्रीको नियुक्तिसँगै सुदूरपश्चिम प्रदेश सरकार १० सदस्यीय बनेको छ। नेकपाको भागमा परेका मन्त्री छनोट गर्न पार्टीभित्र केही समय सकस परेको थियो।
सुदूरपश्चिम प्रदेश सभामा रहेका तीन घटक मिलेर बनेको नेकपामा तत्कालीन माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित प्रदेश सभा सदस्यहरूलाई मिलाएर मन्त्री छनोट गरिएको हो। मन्त्री भाट तत्कालीन माओवादी केन्द्र, रावल तत्कालीन एकीकृत समाजवादी र चौधरी तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका थिए।
गत साउन ९ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकार नेकपाको नेतृत्वमा बनेको थियो। सोही सहमतिअनुसार नेकपा एमालेले तीन मन्त्री र एक राज्यमन्त्री पाएको थियो भने नेकपाले तीन मन्त्री र दुई राज्यमन्त्री पाएको थियो। नेकपा एमालेका तर्फबाट चार मन्त्री यसअघि नै नियुक्त भइसकेका थिए।
मन्त्री छनोटका लागि नेकपा सुदूरपश्चिमका इन्चार्ज भानुभक्त जोशीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको थियो। १२ जना प्रदेश सभा सदस्य मन्त्रीका आकांक्षी रहेकाले कार्यदलले निर्णय गर्न नसकी केन्द्रमा नाम सिफारिस गरेको थियो। केन्द्रको निर्णयअनुसार मन्त्री नियुक्त गरिएको हो।
मुख्यमन्त्री खगराज भट्टले गत साउन २९ गते पद तथा गोपनीयताको शपथ लिएका थिए। उनले प्रदेश सभाबाट विश्वासको मत पनि प्राप्त गरेका थिए।
सुदूरपश्चिम प्रदेश सरकारको पहिलो प्राथमिकता चालु आर्थिक वर्षका लागि बजेट ल्याएर बजेट शून्यताको अवस्था अन्त्य गर्नु रहेको छ।
