कोहलपुर–११ शान्तिनगरका विस्थापित परिवार डोजरले भत्काएको पुरानै ठाउँमा फर्किएका छन्। घरभाडा तिर्न नसक्ने भएपछि उनीहरूले त्रिपाल टाँगेर अस्थायी बसोबास सुरु गरेका हुन्। सरकारले बस्ती हटाए पनि जग्गा वा अस्थायी आवासको व्यवस्था गरेन।
यो राज्यविरुद्ध अस्तित्व र बसोबासको अधिकारका लागि दबाब हो। शान्तिनगर सुकुम्बासी सङ्घर्ष समितिका संयोजक वीरबहादुर परियारले तत्काल अस्थायी बसोबासको व्यवस्था नभएसम्म नहट्ने अडान लिएका छन्।
‘हामीलाई उठाइयो, बस्ने ठाउँ दिइएन। कोठा भाडा तिर्न सक्ने क्षमता छैन,’ परियारले भने, ‘सरकारले अस्थायी बसोबासको व्यवस्था नगरेसम्म हामी यहाँबाट उठ्दैनौं। त्रिपाल टाँगेर भए पनि यहीँ बस्छौं।’
नगरपालिकाले डोजर लगाएर बस्ती हटाएपछि विभिन्न ठाउँमा कोठा भाडामा बस्दै आएका मजदुर परिवारलाई घरभाडा ठूलो आर्थिक भार बन्यो। केही परिवार आफन्तको आश्रयमा बस्न बाध्य भए।
कोहलपुर नगरपालिकाको तथ्याङ्क अनुसार शान्तिनगरमा ७५१ परिवार बसोबास गर्थे। तीमध्ये ४१६ अव्यवस्थित बसोबासी, १७२ भूमिहीन दलित र १६३ भूमिहीन सुकुम्बासी थिए।
नगर विकास समितिको स्वामित्वमा रहेको २८ देखि ३६ बिघा जग्गा लामो समयदेखि अतिक्रमणमा थियो। क्रिकेट मैदान आसपासको भूभागमा घरटहरा निर्माण गरी सयौँ परिवारले बसोबास गर्दै आएका थिए।
बस्ती हटाएपछि वैकल्पिक बसोबासको माग उठ्यो। तर, ठोस समाधान नहुँदा विस्थापित परिवार पुरानै ठाउँमा फर्किए। बस्ती हटाउने क्रममा आश्वासन दिइए पनि कार्यान्वयन भएन। घरभाडा तिर्न नसक्दा उनीहरू त्रिपालमुनि बस्न बाध्य भए।
सङ्घर्ष समितिले भूमिहीन, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको पहिचान गरी वर्गीकरणका आधारमा व्यवस्थापन गर्न माग गरेको छ। उनीहरूले तत्काल सुरक्षित अस्थायी आवास र दीर्घकालीन स्थायी बसोबासको व्यवस्था मागेका छन्।
