NM Khabar 28 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सांसद तामाङको सनसनीपूर्ण आरोप: वडाध्यक्षसहित ३५ जनाले बैंकको भल्ट फोरेर डेढ करोड लुटे

रास्वपा सांसद आशिका तामाङले बाढीले बगाएको बैंकको भल्ट फोडेर १ करोड ८० लाख रुपैयाँ लुटिएको आरोप लगाएकी छिन्। उनले यो घटनामा गल्छीका वडाध्यक्षसहित ३५ जनाको संलग्नता रहेको दाबी गरेकी छन्। सांसद तामाङले घटनाको निष्पक्ष छानबिन र कारबाहीको माग गरेकी छिन्।
Arjun Basnet
Arjun Basnet
28 August 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
बैंकको भल्ट फोडेर लुट
Share:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले रसुवा, नुवाकोट क्षेत्रमा आएको भीषण बाढीले बगाएको बैंकको भल्ट फोडेर झण्डै २ करोड रुपैयाँ लुटेको गम्भीर आरोप लगाएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यो घटनामा गल्छी गाउँपालिकाका वडाध्यक्षसहित ३५ जनाको संलग्नता रहेको दाबी गरेकी छन्।

सांसद तामाङका अनुसार, बाढीले बगाएर धादिङको गल्छी पुर्‍याएको बैंकको भल्टलाई केही व्यक्तिहरूले फोडेर १ करोड ८० लाख रुपैयाँ बाँडेर लगेका छन्। उनले यस्तो संकटको घडीमा गरिएको यो कार्यलाई ‘निच काम’ को संज्ञा दिँदै तीव्र आपत्ति जनाएकी छन्।

उनले फेसबुकमा लेखेकी छन्, ‘यस्तो संकटको घडीमा पनि यति निच काम गर्न कसरी सकिन्छ? बाढीमा बगेर आएको बैंकको भल्ट फोरेर १ करोड ८० लाख रुपैयाँ गिद्धले सिनो लुछेझैँ लुछेर बाँडेको, त्यसमा गल्छीका वडा अध्यक्षसहित ३५ जना संलग्न रहेको भन्ने गम्भीर जानकारी आएको छ।’

सांसद तामाङले उक्त घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेकी छिन्।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटमा रहेका नौ वाणिज्य बैंक र एक विकास बैंकका शाखा कार्यालयहरू बगाएको थियो। उक्त बाढीमा सात वाणिज्य बैंकका २७ कर्मचारी सम्पर्कविहीन भएका थिए। कार्यालयहरू पूर्ण रूपमा बग्दा बैंकमा रहेको नगद र ऋणीले धितो राखेको सुनचाँदीसमेत बाढीमा बगेको थियो।

बाढीले बगाएका केही भल्ट धादिङको गल्छीसम्म पुगेको थियो। त्यहाँ सर्वसाधारणले एउटा भल्ट फेला पारी फोडेको समाचारमा जनाइएको छ। एउटा भल्ट भने प्रशासनको नियन्त्रणमा सुरक्षित छ।

विनाशकारी बाढीपछि रसुवाको भोटेकोशी क्षेत्रमा हालसम्म ५४७ जनाको शव फेला परिसकेको छ। प्रहरीका अनुसार २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार