काठमाडौँ। २१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत ९ कोरियन नागरिकसहित कैयौं नेपाली कामदार पाँच दिनदेखि बेपत्ता छन्। विनाशकारी भोटेकोशी बाढीले आयोजना स्थलमा कार्यरत उनीहरू बेपत्ता भएका हुन्।
उद्धारमा ढिलाइ भएपछि कोरिया सरकारले नेपाल सरकारलाई पत्राचार गर्दै निजी क्षेत्रका हेलिकप्टरलाई उद्धारका लागि अनुमति अनुरोध गरेको थियो। तर, हालसम्म उचित समन्वय हुन नसकेको कम्पनीको भनाइ छ।
कोरियाली कम्पनीको मुख्य लगानी रहेको यस आयोजनामा कार्यरत आफ्ना नागरिकहरूको अवस्था बुझ्न र उद्धार गर्न नेपालस्थित कोरियाली दूतावास र आयोजना प्रवर्द्धक कम्पनीले पटक–पटक प्रयास गरे पनि गृह र रक्षा मन्त्रालयले हेलिकप्टर उडानका लागि अनुमति नदिएको आरोप छ। सरकारी तहबाट पनि हालसम्म उद्धारको पहल नभएको बताइएको छ।
पीडितका आफन्त र कम्पनीका प्रतिनिधिहरूले सरकारको उदासिनताप्रति आक्रोश व्यक्त गरेका छन्। ‘पाँच दिन बितिसक्यो, मानिसहरूको अवस्था थाहा छैन,’ खोजीका लागि आग्रह गर्दै बेपत्ताका एक आफन्तले भने, ‘हामीसँग आफ्नै स्रोत छ, हेलिकप्टर तयार छ, तर सरकारले अनुमति दिँदैन।’
परराष्ट्र मन्त्रालयले भदौ १२ गते रक्षा मन्त्रालयलाई पत्र लेख्दै फिस्टेल एयर र प्रभु हेलिको ६ वटा हेलिकप्टर अवतरणका लागि अनुरोध गरेको थियो। कोरियाली दूतावासले समेत कूटनीतिक नोट मार्फत आफ्ना नागरिकको खोजीका लागि अनुमति मागेको थियो।
तर, परराष्ट्रको सिफारिस हुँदाहुँदै पनि गृह मन्त्रालय र रक्षा मन्त्रालयले सुरक्षा वा अन्य प्राविधिक कारण देखाउँदै हिजो दुई उडानबाहेक अरु अनुमति नदिएको सरोकारवालाको गुनासो छ। कोरियाली सरकारले आफ्ना नागरिकको उद्धारका लागि छुट्टै विशेष टोली समेत पठाएको थियो, तर उनीहरूलाई पनि उडान अनुमति दिइएको छैन।
९० डिग्रीको भिर र जङ्गलमा मानिसहरू घाइते अवस्थामा रहेको जानकारी आएकाले तत्काल उद्धार नगरिए मानवीय क्षति अझै बढ्ने भन्दै कम्पनीका प्रतिनिधि र आफन्तहरूले सरकारलाई हारगुहार गरिरहेका छन्। हालसम्म बेपत्ता भएकाहरूको सूची समेत सार्वजनिक नगरिएकोमा पीडित परिवार निकै रुष्ट छन्।
