NM Khabar 2 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भोजपुरको भदौरे मेलामा शिक्षकको हत्या: पुरानो रिसइबीले ११ पक्राउ

भोजपुरको भदौरे मेलामा खोटाङका शिक्षक भानुभक्त राईको कुटपिट गरी हत्या भएको छ। पुरानो रिसइबीका कारण भएको घटनामा प्रहरीले एउटै गाउँका ५ महिलासहित ११ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू सबै खोटाङको केपिलासगढी गाउँपालिका-७ का बासिन्दा हुन्।
Maya Thapa
Maya Thapa
2 September 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
शिक्षक हत्या भोजपुर
Share:

भोजपुरको साल्पासिलिछो गाउँपालिकामा लागेको भदौरे मेलामा खोटाङका शिक्षक भानुभक्त राईको कुटपिट गरी हत्या भएको छ। पुरानो रिसइबी साँध्ने क्रममा भएको यो घटनामा प्रहरीले खोटाङकै एउटै वडाका ५ महिलासहित ११ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार ज्यान गुमाउनेमा खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर-७ का ३९ वर्षीय भानुभक्त राई छन्। उनी सोही स्थानको सूर्य माध्यमिक विद्यालयमा राहत कोटामा कार्यरत शिक्षक थिए।

गत भदौ ११ गते राति करिब पौने १२ बजे साल्पासिलिछो गाउँपालिका-५ माबुस्थित मेलामा राईमाथि समूहगत कुटपिट भएको थियो। पुरानो विवादको विषयलाई लिएर भएको यो घटनामा शिक्षक राईको मृत्यु भएको मौखिक जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक महेन्द्र पराजुलीले घटनामा संलग्न भएको आशङ्कामा भदौ १२ गते ११ जनालाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेकाहरूलाई भोजपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

पक्राउ पर्ने सबै खोटाङको केपिलासगढी गाउँपालिका-७ कै बासिन्दा हुन्। पुरुषहरूमा २१ वर्षीय प्रवेश भन्ने सागर कोयी राई, २१ वर्षीय मौली भन्ने प्रतिक राई, २५ वर्षीय माईकल भन्ने निशान राई, २३ वर्षीय सुशिल राई, ३२ वर्षीय शेर बहादुर भन्ने अमर राई र ३० वर्षीय उमेश भन्ने उमेश दुमी राई रहेका छन्।

शिक्षक हत्यामा संलग्न आरोपमा सोही गाउँका ५ महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने महिलाहरूमा ३५ वर्षीया तारादेवी राई, ४८ वर्षीया सुमिता राई, ४३ वर्षीया तेज कुमारी राई, १९ वर्षीया देविका राई र २० वर्षीया चन्द्रकला राई छन्।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार